(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Tuesday, November 1, 2016

दशैँमा मान्यजन र तिहारमा दिदीबहिनी र भैलीले दिएका आशिषहरु लाग्ने


कुनै पनि चाडपर्वमा आफन्तसँग भेट हुने र लामो समयको अन्तरालमा सामान्य हुन गएको परस्परको भावना र मायामा थप उत्साह थपिने हुँदा यसबाट स्वतः लावान्वित हुन सकिने देखिन्छ । आफन्तका बीचमा हुने भावनात्मक सम्बन्धको सुधारलाई फाइदा वा नाफाघाटासँग जोड्नु एक निम्न कोटिको सोचाइ हो । तैपनि विविध बाध्यता र समस्याका कारण यस्ता पर्वहरु मनाउने अवसर मिल्न वा नमिल्न सक्छ, यसलाई आफन्तजनले अन्यथा लिनु हुँदैन । तर कतिपयले दशैँतिहारजस्ता चाडवाडमा आफन्त र मान्यजनले दिएका आशिषहरुलाई निरर्थक भन्ने गरेको पाइन्छ । 

एक थरी मानिसहरु चाडवाडका अवसर पारेर दिएको आशिष लाग्छ नै भन्ने पक्षमा रहेको पाइन्छ भने अर्का थरीले भावनात्मक सम्बन्ध सुधार र समाजका सन्दर्भमा राम्रो भए पनि आशिष चाहिँ लाग्दैन, लाग्ने भए हामी कहाँ पुगिसक्ने थियौँ भन्ने धारणा राखेको पाइन्छ । कतिपय भर्खरभर्खर स्कुले वा विश्वविद्यालयका कुनै तहका पढाइ सकेका युवाहरुले त एक्काइसौँ शताब्दीमा पनि यसो भन्ने ? भनेर अविश्वास गरेको पाइन्छ । बुझाइसहितको पढाइ त विश्वविद्यालय र घरव्यवहारको लामो यात्रापछिमात्र आरम्भ हुन्छ भन्ने कुराको ज्ञान पाउने अवसर नमिल्दा त यो वा त्यो किन भन्ने, तपाईँहामी सबै एकै बारीका बाली हौँ, यो बुझ्नुपर्ने हुन्छ ।

वर्तमान समयमा समाज र नागरिकहरु बढ्दो निराशा र भावनारहित चरम प्रतिस्प्रधा तथा ईष्र्याले ग्रस्त छन् । कतिपय त आजीवन मानसिक रुपमै कमजोर र अस्वस्थ भएको पाइन्छ । हाम्रोजस्तो बेरोजगारी भएको मुलुकमा यस खालका निराशा र दिशाहीनता जस्ता समस्याहरुले झन् विकराल स्वरुप लिँदै गरेको देखिन्छ । यही समस्याका कारण कतिपय नेतृत्वहरु नै विभिन्न प्रकारका तलिम तथा अभ्यासमा व्यस्त भएको देखिन्छ । सकारात्मक सोँच, उत्साह, मनोरन्जन र हर्षका लागि व्यक्ति, समाजसेवी, कर्माचारी तथा अन्य व्यक्तित्वहरुले पुस्तक आदिको अध्ययन तथा तालिममा भएगरेका खर्चहरु पनि धेरै नै मात्रामा रहेका छन्, समय त झनै भइ नै हाल्यो । यसै बीचमा व्यक्तित्व विकास र आफू जन्मेहुर्केको स्थानमा आफ्नो पहिचान बनाउन पनि वर्तमान पुस्तालाई कम चुनौतीको विषय छैन । यी र यस्ता विविध समस्याहरु र यथार्थहरुसँग हामीहरु परिचित नै छौँ । 

सबै उत्साहित र खुशी हुन चाहन्छन्, हामी पनि चाहन्छौँ । राष्ट्रको व्यवसायको स्तर उठाउन र मुद्रालाई चलाएमान गराउन वा विनिमयमा लैजान पनि चाडपर्वहरुको महत्त्व रहँदै आएको छ । यसै समयमा आउने म्हेह पूजा, छठ पर्व जस्ता पर्वहरुले पनि यो देशको आर्थिक विकासमा विशेष भूमिका निर्वाह गर्दछन् । व्यापार व्यवसाय बढ्छ, कारोबार बढ्छ । यस बीचमा सबै मानिससँग चाडवाड मनाउने मनग्य धनपैसा हुँदैन भन्ने कुरा पनि आउँछ । आर्थिक सबलता र दुर्बलताका कुराहरु अन्यदिनहरुमा झैँ चाडवाडमा पनि लागु हुन्छ ।

राष्ट्रमा चाडबाडका लागि भनेरै पनि धेरै परिश्रम गर्न तयार हुने वर्ग पनि छ । तर यससँगै चाडवाडलाई धनसम्पत्ती र शक्ति प्रदर्शनको विषय ठान्ने प्रवृत्तिका मानिसहरुका कारण निम्न वर्गलाई निकै असर पुर्याएको पनि देखिन्छ । सकिनसकी ऋणधन गरेरै भए पनि अरुको सरह हुन खोज्ने अज्ञानताका कारण र प्रभावबाट प्रभावित हुनाका कारण निम्न वर्गीय जनतामा झन् समस्या निम्तिएको पनि देखिन्छ । यसको अर्थ चाडवाड नभएको भए निम्न वर्गलाई राम्रो हुने थियो भन्ने चाहिँ होइन । चाडवाड पनि आएन भने वर्षभरि दुखः गर्ने निम्न वर्गीय जनताहरुलाई जीवनमा एक दिन पनि आफन्तसँग भेटघाट गर्न र गछ्यअनुसारको खुशी बाँडचुँड गर्ने अवसरमा कमी आउनेछ । मजदुरहरुलाई विदा र आनन्दको अवसर गुम्नेछ । उनीहरुका कामहरुका समीक्षा र सहयोग गर्ने आफन्तसँगको सामीप्यता न्यून हुनेछ । त्यसैले चाडवाड सबैको हितमा छ तर सचेत भएर यसको सदुपयोग गर्न सक्नुपर्छ ।

चाडवाडमा पनि अन्य दिनहरुमाझैँ माथिका उल्लिखित र अन्य विविध समस्याहरु र समाधानहरु त छन् नै यसका बीचमा दशैँमा आआफ्ना बाबुआमाको आशिर्वाद र तिहारमा देउसीभैली र दिदीबहिनीले दिएका आशिषहरु लाग्छन् कि लाग्दैनन् भन्ने विषय पनि कताकता चर्चाको विषय बन्ने गरेको देखिन्छ । यस्ता सुन्दर र आत्मीयता विकास गर्ने तथा सामाजिक सद्भाव विकास गर्ने देउसी भैलीजस्ता सांस्कृतिक र परम्परित विषयमा विकल्पको सवाल उठाउनु पनि त्रुटिपूर्ण हुन जाला तैपनि कतिपयलाई भित्रभित्रै यस सवालले पनि घोचिरहने गरेको पाइने हुँदा यस विषयलाई लिइएको हो । अब यस विषयमा प्रवेश गरौँ ।

कुनै बद्मास बालकलाई पनि उसका बाबुआमा, आफन्त, मान्यजन तथा गुरुजनहरुले भोलि ठूलो मान्छे भएस्, हाम्रो इज्जत राखेस् भनेर दिएको आशिषले सकारात्मक भावनाको विकास गरिरहेको हुन्छ । सबैले सबै कुराको सदुपयोग केकति गर्छन् भन्ने कुरा भिन्दै विषय भए पनि उसलाइए सानैदेखि ठूलो हुने आशामा केही न केही मात्रामा कमजोरीहरुलाई सुधारिरहेको हुन्छ । यस्तै आशिर्वादले पनि कतिपयमा भारी सुधार भएको हामी पाउँछौँ । यसरी ऊ ठूलो भइसकेपछि हरेक वर्षमा आफूभन्दा ठूला मानिसले उसले गरेका असल कामहरुको प्रशंसा गर्दै नराम्रा कामहरु छोड्न दिएको आशिषले उसलाई पटकपटक राम्रा काम गर्न घच्घचाएको पाइन्छ । कतिपयले त मान्यजनका हातको टीका थाप्दा कसम खाएर रक्सी, चुरोट, झैझगडा, कुलत आदि छोडेर सही बाटोमा लागेका उदाहरणहरु नेपाली समाजमा प्रशस्त छन् । रक्सी खानेहरुलाई उसका मान्यजनहरुले रक्सी खाने भए मेरो हातको टीका लगाउनै पर्दैन, मलाई ढोग गर्नै पर्दैन भनेको पनि पाइन्छ । यसैबीच कतिपयले निर्णय गरेर जीवनभर खराब चीजको संगत त्यागेका उदाहरण भेट्न सकिन्छ । 

मानिस सफल हुन उसको मनमा उत्साह र आफन्तको सहयोग पनि चाहिन्छ । कतिपय अवस्थामा चाडवाडमा भएका भेट र समीक्षाबाट मानिसहरुका जीवन नै बदलिएको देखिन्छ । कोही आफन्त दुःखमा रहेको छ भने चाडबाडमा भएको आफन्तहरुको जमातले निकै कामलाग्दा सुझाव तथा सहयोगहरु गरेर सफलताको बाटोतर्फ लगेको पनि देखिन्छ । यसबाहेक सुखी वा दुखी हरेक मानिसलाई उसको कामको प्रशंसा गदै अझ सफल हुनु, वैरीका सामु केही गरेर देखाउनु, अरुले छी भन्ने नपार्नू, आफ्ना छोराछोरीलाई राम्रोसँग हेर्नु, बाबाआमालाई पाल्नुताल्नु जस्ता भनाइ र कामनाले पनि उसका लागि तत्काल कतिपय असल योजनाहरु बन्दछन् र सफलताको बाटोमा मानिस लागि पनि हाल्दछ । त्यस्तै विविध कारण र बाध्यताका कारण चिसिएको वा बिग्रिएको सम्बन्धको सुधारमा चाडबाडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सतहमा आम सर्वसाधारणले नै बोध गर्ने गरी हुने आशिर्वाद र यससँग जोडिएका पक्षहरुका फाइदाहरुबाहेकका थप अन्तर्तहका फाइदाजनक चीजहरु मान्यजनका आशिर्वादहरु हुन् । कसैलाई विशेष वातावरण, मानसिकता र अवसर पारेर दिइने आशिर्वादले बाह्य शक्तिको परिचालक आन्तरिक शक्तिलाई वृद्धि गरिदिन्छ । यसैकारण उक्त व्यक्तिले आशिष थाप्दा नथाप्दाका अवस्थामा भन्दा बढी सफलता हासिल गर्न सक्ने सम्भावना बढेर जान्छ । तर यसलाई अन्य व्यक्तिको तुलनाका रुपमा हेर्न मिल्दैन, उसकै प्रगतिको तुलनात्मक सम्भावनाको सन्दर्भसँग मिल्ने कुरा हो । 

केही अन्य प्रकृतिका उदाहरणहरु पनि हेरौँ, कुनै खेलका लागि राष्ट्रिय टिमलाई बिदाइ गर्दा उक्त टिमको अभ्यास र क्षमताका अतिरिक्त सम्बन्धित राष्ट्रका राष्ट्रप्रमुखहरुले दिने उत्साह र समर्थकहरुले दिने हौसलाले पनि खेलमा महत्त्वपूर्ण कार्य गर्ने हुँदा यो विश्वभरि प्रचलित छ । यसै गरी विशेष अवसर, अनुकूल प्राकृतिक वातावरण, उत्साहमय मौसम, सरदरमा फुर्सद आदि संयोग मिलेको सुखद अवसरमा दिइने दशैँतिहार जस्ता चाडबाडका आशिषहरुले यस्तै आधारभूत भुमिका निर्वाह गर्दछन् । गायकगायिकाहरुलाई गुरुले दिने आशिर्वाद, तालिममा प्रशिक्षकले दिने आत्मबलका टिप्स र रणनीति आदि कुराहरुले पनि यस्तै खालका भूमिका निर्वाह गर्दछन् । 

भैलीले दिने आशिष त झनै महत्त्वपूर्ण हुन्छ । एक जनाले नभई धेरै जनाले सुधार होओस् भनी दिएको कामना । अझ संगीतबद्ध र नृत्यसमेतको कामना । यस बेला दिइने आशिषले घरबेटीको मन स्वच्छ छ भने हाम्रो सफलतामा ठूलो भूमिका निर्वाह गर्दछ । मनै प्रशन्न हुन्छ । गौरव हुन्छ । तर यी भैली त नआए पनि हुन्थ्यो, काम नपाएर माग्न आएका भन्ने नकारात्मक भावना राखेका बेला भैलीले दिएको आशिष फलदायी हुन सक्दैन । त्यसै गरी जति छ त्यति दिने र थोरै दिए पनि धेरै दिए पनि घर नबिराएर सबैकोमा सबै उत्तिकै सम्मानपूर्वक गइदिने परम्परा भैलीले पछ्याएनन् भने ती भैलीले दिएको आशिष पनि लाग्दैन किनकि परस्परमा भावनाको मिलन हुन पाउँदैन । त्यसैले सबैले राम्रो भावनासहित, असल र आधारयुक्त कामना र आशिष दिने र त्यो पनि संगीत तथा नृत्यका साथमा दिने हुँदा भैलीको आशिषको विशेष र दीर्घकालीन लाभ छ । समाजमा सम्मान र सम्बन्ध कायम गर्ने विशेष अवसर पनि भैली हो । 

दिदीबहिनीले गर्ने सप्रेम कामनाले पनि दाजुभाइको मन प्रफुल्ल हुन पुग्दछ । यसभित्र पर्ने अनेक विधि परम्पराले झन् मानिसका उत्साह र क्षमतालाई नवीकरण नै गर्न पुग्दछन् । तर औषधी पनि खानापछि खानेलाई खानअघि खाँदा वा उमेरअनुसार तोकिएको मात्राको वास्ता नगरी घटी वा बढी खाने गरेमा लाग्दैन भनेझैँ नकारात्मक भावना राखेमा र नराम्रो मात्र देखेमा दिदीबहिनीका कामना र देउसीभैलीका कामनाहरुको फल पनि नकारात्मक नै हुन सक्ने सम्भावना हुन्छ । यसरी औषधीमा प्रयोगकर्ताले भूल गरेका एकाध घटना र अर्थमा सम्पूर्ण मेडिकल साइन्सलाई नै बेकारको भन्न नमिलेझैँ विधि र अनुशासनभित्र नरही खेलिने भैली, तडकभडकको चाड मान्ने दाजुभाइदिदीबहिनी र जनमानसको बुझाइका आधारमा सम्पूर्ण भैलीपरम्परालाई निरर्थक भन्न मिल्दैन । सही वातावरण, शुद्ध भावना र विश्वासका साथ प्राप्त गरको आशिष लाग्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । अज्ञानतावश आएका विकृति, ढोँग, बडप्पन, तडकभडकजस्ता कुराहरुलाई भने हामीले अँगाल्नु हुँदैन । चन्द्रमामा भएका कालादागको विरोध गरेर र असन्तोष व्यक्त गरेर आफूमा नकारात्मक भावनालाई प्रश्रय दिनुभन्दा यसले दिने शान्त प्रकाश र आनन्दलाई लिन सक्नुपर्छ । यस कुरामा सबै सचेत हुनु आवश्यक छ ।

अन्त्यमा, जस्तो, कुनै एक समाजसेवी जो सकारात्मक सन्देशका लागि बेलाबेलामा एनजिओ तथा आइएनजिओमा तालिम लिएको हुन्छ र उसले चाडवाडमा दिइने शुभकामना वा आशिर्वादले के काम गर्दछ ? भन्यो भने उसमा शुभकामनालाई पनि नकारात्मक रुपमा लिने सम्मको खतरनाक मानसिक समस्या रहेछ भनेर बुझ्दा अन्यथा हुनेछैन । उसको भनाइका आधारमा राष्ट्रको उत्साह वा शोकमा राष्ट्रले गर्ने विश्वभरिका देशहरुका प्रचलनहरु निरर्थक हुन्छन् । यसर्थ सकारात्मक सोँचको विकास भई नसकेका कथित शिक्षित अव्यवहारिक मानिसहरुले गर्ने विश्लेषण र प्रचारप्रसारको शिकार अन्य सर्वसाधारण मानिस भए भने त्यो परिणाम अन्ततः राज्यका लागि हानि पुर्याउने खालको हुन्छ । हामीलाई थाह छ, अमृतमा विष मिसाउँदा अमृत पनि विषाक्त नै बन्दछ । उसले एकदिन आफू जन्मेको धर्ती वा आफूलाई यो तहमा ल्याइपुर्याएको परम्परा र सामाजिक मूल्यलाई अविश्वास गर्न सक्छ । के असल हो र के खराब हो भन्ने कुराको विश्लेषण गर्ने अवसर नपाएरै त्यस्ता कतिपय मानिसहरुको जीवन बित्दछ । उनीहरुले आमाबाबुलाई आमाबाबु हुन् कि होइनन् भनी शंका गर्न पुग्छन् । कतिपयले आफ्ना आमाबाबुलाई पनि यस्ता नकारात्मक प्रचारकको प्रभावमा परी पराइको व्यवहार गर्दछन् र आफूलाई सर्वेसर्वा ठान्दछन् । त्यसैले समयमै असल संगत गर्न नछोडौँ नत्र हामी पनि यस्तै विचारको शिकार बन्न सक्छौँ । विकृति र विसंगतिहरुलाई दुरुत्साहन गर्दै हामीले हाम्रा आफन्तजन, मान्यजन, दिदीबहिनी र देउसीभैलीका आशिष लाग्ने कुराको रहस्यलाई हृदयदेखि 
मनन गर्दै जाऔँ । अरुले असल हुन गरेको कामनालाई पनि प्रश्न उठाउछौँ भने हामीमा नकारात्मक भावनाको समस्या झन् बढेर जानेछ । यही सोँच नै असफलताको बीज हो, कारण हो ।


-डब्ल्यूडी