नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha

(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Monday, December 12, 2016

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...हामी सामाजिक प्राणीहरु हौँ । हामीमा चेतना छ, अनुशासन छ । सामान्यतः सुनेको र देखेको भरमा टाउको हल्लाउने बानी यत्रतत्र भएको हामी पाउछौँ । यस क्रममा हाम्रो टाउको कहिले कता त कहिले कता हल्लिन पुग्छ । सबै प्रकारका हल्लाइले सबैलाई प्रशन्न वा क्रोधित बनाउँछ भन्ने हुँदैन । टाउको जानाजान यतैतिर हल्लाउँछु भनेर हल्लाउनु र अज्ञानतावश हल्लाउनुमा भने केही फरक हुन्छ । यो साइट खोलेपछि टाउको हल्लाउने समस्याका फाइदाहरु केके होलान् ? भन्ने कुरा यहाँहरुलाई लागेको होला । म यस लेखको मूल आशयलाई एउटा सानो उदाहरणका आधारमा स्पष्ट गर्ने प्रयास गरेको छु । 


भौतिक शास्त्रका परीक्षण र प्रवचनहरुमा सबै मानिसहरु असल र स्वतन्त्र उद्देश्यले उपस्थित भएका हुँदैनन् । यसको उदाहरणका लागि एउटा कार्यक्रमलाई लिन सकिन्छ । केही वर्षअघि त्रिभुवन विश्वविद्यालयमा राखिएको एउटा प्रवचन कार्यक्रम राखिएको थियो । मैले उक्त कार्यक्रममा न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको विश्लेषण र न्युटनको चालको दोस्रो नियममा रहेको त्रुटि शीर्षकमा वक्ताका रुपमा जानकारीहरु प्रस्तुत गरिरहेको थिएँ । त्यहाँ प्रायः एमएससी पढ्दै गरेका र पढिसकेका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यहाँ उपस्थितमध्ये एक सहभागीले जे बोले पनि होइन भन्ने आशयमा टाउको हल्लाउने उद्देश्य लिएर सहभागिता जनाएका रहेछन् । 



कार्यक्रममा मैले व्याख्या गर्दै जाँदा चालको दोस्रो नियमले बलसँग पिण्ड र प्रवेगको गुणनफल बराबर हुन्छ वा F = ma भन्दछ भनी बताएँ । त्यतिबेला पनि उनको टाउको होइन भन्ने आशयका साथ हल्लियो । उनले आफूलाई भौतिक शास्त्रमा एमएससी सकेको बताएको पाएको थिएँ । मैले बोर्डमा लेखेर देखाएपछि पनि उनले एकछिन टाउको उसै गरी हल्लाए । मैले सोचेँ उनको यो बानी रहेछ । तर पछि कुरा बुझेपछि त्यति धेरै सहभागीहरुका अगाडि केही लाज मानेजस्तो गरे । एकछिनपछि टाउको हो भन्ने आशयमा हल्लाए । उनको अनुहारमा केही फरक रङको रगत संचार भयो । अन्ततः यसबाट सबैभन्दा बढी बेफाइदा उनलाई नै भयो । आफ्नै बद्नियतका कारण उनले आफ्नो नैतिक र सामाजिक उचाइ घटाए । for detail, click here.

Saturday, December 10, 2016

प्रतिभाहरुलाई माथि उठाउँदै पूर्वी चितवन साहित्य समाज

नेपालसमाचारपृष्ठ ---______---______---




पूर्वी चितवन क्षेत्रका साहित्यिक प्रतिभाहरु र स्थानीय साहित्यलाई उजागर गर्ने प्रमुख उद्देश्यका साथ पूर्वी चितवनका चार वटा नगरपालिकाका प्रतिनिधिहरु समेटेर गठन भएको पूर्वी चितवन साहित्य समाजले अहिले आएर पूर्वी चितवन क्षेत्रमा रहेका फरकफरक स्थानका साहित्यिक प्रतिभाहरु र कलाकारहरुको खोजी र उजागर गर्दै आएको छ । सर्वप्रथम खैरहनी नगरपालिकाबाट कार्यक्रम गर्दै अघि बढेको उक्त समाजले मासिक रुपमा कहिले रापती नगरपालिकामा त कहिले कालिकास्थान नगरपालिकामा कार्यक्रमहरु आयोजना गर्दै अघि बढेको देखिन्छ । यस समाजले साहित्यसँगै संगीतलाई पनि सँगसँगै लिएर जाने गरेको छ । यसका लागि समाजले समिति विस्तारसँगै गतिविधिहरुको जानकारी दिन फेसबुक पेज पनि सन्चालनमा ल्याएको छ ।


निरन्तर लगाव हुँदाहुँदै र वर्षौँ परिश्रम गर्दागर्दै पनि आफ्नै गाउँठाउँमा समेत सामान्य परिचय बनाउन निकै कठीन हुने र त्यसै हराइने वर्तमान सामाजिक परिवेशको बोध गरी पूर्वी चितवन क्षेत्रका नयाँपुराना साहित्यिक प्रतिभा र कलाकारहरुको परस्परको सामीप्यताका लागि उक्त समाज गठन भएको छ । पूर्वी चितवन क्षेत्रका दर्जनौँ साहित्यिक प्रतिभाहरु र कलाकारहरु यस संस्थाका क्रियाकलापहरुबाट लावान्वित हुन पुगेका छन् । साहित्यिक कार्यक्रमहरुको महत्त्व र उपयोगिता जीवनको उतारचढाव परिपक्वतासँगै विस्तारै झल्किँदै जाने भए पनि पुराना र स्थापित सामाजिक व्यक्तित्वहरुसँग देखभेट गर्ने अवसर नयाँ साहित्यकार र कलाकारहरुलाई जुटाउने कार्य यस संस्थाले गर्दै आएको देखिन्छ । स्थापित व्यक्तित्वसँग युवा र नयाँ प्रतिभाहरुले भेट गर्ने एवम् एउटै मन्चमा उभिने सरलतम अवसर जुटाउने कार्यले खास गरेर व्यक्तित्व विकास र नयाँ प्रतिभाहरुको आत्मविश्वासको विकासमा उक्त समाजको उल्लेखनीय योगदान हुन पुगेको देखिन्छ । यस क्षेत्रमा भएका प्रतिभाहरुलाई उजागर गर्न यस खालका कार्यक्रम आयोजना गर्ने निधो गरिएको हो, सौराहा अनलाइन तथा ग्रेट एफएमको पेजमा अध्यक्ष चौधरीको धारणा उल्लेख गरिएको छ ।


पेजमा भएका गतिविधि, आशय र समाचारहरु हेर्दा संस्थाले गर्नुपर्ने धेरै कामहरु छन् । सकेजति काम गर्ने प्रयास भइरहेको देखिन्छ । पूर्वी चितवनको स्थानीय आदिवासी भाषासाहित्यलाई अगाडि बढाउनुपर्ने जिम्मेवारी टड्कारो छ । थारु साहित्य, दरै साहित्य र चेपाङ साहित्यलाई उजागर गर्नुपर्ने जिम्मेवारी पनि संस्थाको काँधमा छ, पेजमा आएका विचारहरुमा यी कुराहरु पनि देखिएका छन् । प्रतिभा भएरै पनि आर्थिक अभावका कारण रचना प्रकाशन गर्न नसकेका प्रतिभाहरुलाई यसको प्रबन्ध मिलाउनुपर्ने सामाजिक दायित्व छ । पूर्वी चितवन क्षेत्रमा भएरै र लागेरै पनि नयाँ कलाकार तथा प्रतिभाहरुलाई एकअर्काबीच परिचय स्थापना गराउन गाह्रो भइराखेको वर्तमान समयमा थप घनिष्ठता बढाउनका लागि यस खालका कार्यक्रमहरु आयोजना गर्नु आवश्यक छ । सबै साथीहरुले यसको महत्त्व बेलैमा बुझ्न सकेमा र साथ दिँदै गएमा हामी अझ तीव्रताका साथ अघि बढ्नेछौँ, अहोरात्र खटिएका सदस्यहरु र संस्थाका अध्यक्ष मनोज चौधरीको आशय छ ।

समाजले एकपछि अर्को हुँदै यस खालका महत्त्वपूर्ण कार्यक्रमको निरन्तरता दिँदै आएको छ । पहिलो चोटि खैरहनी नगरपालिका ८ पर्सा बजारमा कार्यक्रम गर्दा प्रमुख अतिथिका रुपमा उपस्थिति जनाएका समाजसेवी तथा साहित्यप्रेमि ईश्वरीप्रसाद गजुरेलले सबै स्रष्टाहरुलाई हौसाएका थिए । उनले पूर्वी चितवन क्षेत्रमा यसअघि यसरी कार्यक्रम गर्ने लक्ष्य कुनै संस्थाले राखेको आफूलाई थाह नभएको बताएपछि संस्थाका सदस्यहरुमा झन् हौसला मिल्न गएको थियो । पूर्वी चितवनलाई आपसमा जोड्ने सोँचका साथ यो संस्था आएकाले आफ्ना स्थानबाट सकेजति सहयोग हुनेछ, गजुरेलको यस भनाइले चौधरी र उनी नेतृत्वको संस्थाका सदस्यहरुलाई उत्साह प्रदान गरेको थियो । उक्त कार्यक्रममा नयाँ प्रतिभाहरु र लेख्दै आएका केही स्रष्टाहरुले रचना तथा गायन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमपश्चात् संस्थामा थप ऊर्जा उत्पन्न भएको थियो । २०७३ भदौ २५ गते आयोजना गरिएको उक्त कार्यक्रममा सुरज कालाखेती, योगी कृष्णनाथ, सागर मिश्र, आश्रिया परियार, एलिना सापकोटा, शरद ऋतु, मिथुन कुँवर लगाएतले रचना वाचन गरेको फेसबुक समूहको पेजमा उल्लेख गरिएको छ ।

पहिलो कार्यक्रम गरेको केआरपि म्युजिक सेक्सनमा नै दोस्रो कार्यक्रम गर्ने संयोग मिल्यो । दोस्रो पटक कार्यक्रम गर्दा पहिलो कार्यक्रमको अनुभव पनि थियो । यसले थप सहयोग पुर्यायो । यतिबेला अध्यक्ष आफैले पनि चियापानमा सकेजति सहयोग गरे । प्रमुख अतिथिका रुपमा आएका लक्ष्मणप्रसाद चौधरीले संस्थाको क्रियाकलापको खुलेर प्रशंसा गरे । सक्दो सहयोगको वाचा गरे । उपस्थित विभिन्न स्रष्टा तथा कलाकारहरुको प्रस्तुतिले कार्यक्रम रोचक बन्न पुग्यो । यसपछि ठाउँठाउँमा गएर कार्यक्रम गर्ने निर्णय समाजले गरेको थियो । लक्ष्मण प्रसाद चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्रष्टाहरुबीच दशैँको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि जोडिएको कुरा सन्चारकर्मी तथा समाजका सदस्य अनिल दराईले समाजको पेजमा उल्लेख गरेका छन् । कारी महतो, सन्जय चौधरी, बुद्धिकुमार श्रेष्ठ, राज प्रणय, सागर मिश्र, कुमार सिंजाली, मिथुन कुँवर, सुरज कालाखेती, अनिता वली, योगी कृष्णनाथ, सुदीप बिक, हितबहादुर अधिकारी लगाएतले उक्त कार्यक्रममा रचना तथा गीत प्रस्तुत गरेका थिए ।

तेस्रो पटक मिति २०७३ कार्तिक २७ गतेका दिन उक्त संस्थाले रापती नगरपालिकामा अर्को कार्यक्रम आयोजना गरेको देखिन्छ । राप्ती नगरपालिका २, बफरजगंको सभाहलमा भएको उक्त कार्यक्रममा कवि रुद्रराज कँडेल प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा राजेश रुम्बा, रुविन पौडेल लगाएतका उक्त क्षेत्रका साहित्यिकारहरुले रचना वाचन गर्नुका साथै पूर्वी चितवन क्षेत्रका कलाकारहरुले गीतहरु प्रस्तुत गरेका थिए । आश्रीया परियार, सुरज कालाखेती, योगी कृष्णनाथ, अनिता वली, मिथुन कुँवर लगाएतका स्रष्टाहरुले उक्त कार्यक्रममा रचनाहरु सुनाउनुका साथै गीतसमेत प्रस्तुत गरेका थिए । सबै सदस्यहरुको सहयोग र सद्भावबाट उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन पुगेको थियो । राप्तीलाई सम्झेर कार्यक्रम गर्न आएकोमा उक्त क्षेत्रका प्रतिभा र समाजसेवीहरुले पूर्वी चितवन साहित्यसमाजको खुलेर प्रशंसा गरेका थिए । धन्यवाद दिएका थिए । 


पूर्वी चितवनलाई भावनात्मक र रचनात्मक रुपमा बाँध्न थप भूमिका निर्वाह गर्ने कार्य समाजले गरेको छ । पूर्वी चितवन क्षेत्रमा रहेका एक नगरपालिकाका स्रष्टाहरु अर्को नगरपालिकामा गएर रचना सुनाउने र उक्त क्षेत्रका रचनाकारहरुलाई फेरि अर्को नगरपालिकामा आउन निम्तो दिने कार्य समाजले गर्दै आएको छ । यस क्रममा खैरहनी नगरपालिकाका स्रष्टाहरु रापती, कालिकास्थान र रत्ननगर नगरपालिकामा गई रचनामार्फत् साइनो गाँस्ने र उक्त क्षेत्रका स्रष्टाहरुले अन्य नगरपालिकामा गई परस्परमा साइनो गाँस्ने गरेका छन् । अहिले स्रष्टा तथा कलाकारहरुमा उत्साह बढेको छ । उनीहरुको हिजो र आजमा भारी अन्तर आएको छ । रचनाहरुको स्तर र गौरव बढेको छ । कलाकारहरुको चिनाजानी र परिचय फैलिँदै गएको छ । साहित्य र कलामा लागेर केही गर्न सकिँदैन भन्ने कमजोर मानसिकतामा धेरै परिवर्तन आएको छ । भेटै हुने सम्भावना नभएका साथीहरुसँग भेट भएको छ, समूह बनेको छ । अवसरका सम्भावनाहरु एकपछि अर्को गर्दै क्रमशः बढेर गएको उनीहरुले पाएका छन् । उनीहरुका पछिल्ला क्रियाकलापहरुले यो पुष्टि गर्दछन्, यो पनि ठूलो उपलब्धी हो । प्रतिभाहरुलाई उठाउने यसरी नै हो, अध्यक्ष चौधरीले बताउने गरेका छन् ।


नयाँ परिचय विस्तार हुँदै जाँदा कतिपय प्रतिभाहरुले सुनौला अवसरहरुसमेत प्राप्त गरेका छन् । कतिपयले गायनका लागि विभिन्न कार्यक्रमहरुमा अवसर र निम्तो पाएका छन् भने कतिपयले रचना प्रकाशनका अवसरहरु पाएका छन् । कुनै संस्थाले सानो प्रयास गर्दासाथ प्रतिभा कति छिटो अगाडि बढ्ने र परिचित हुने अवसर पाउँछ भन्ने कुराको उदाहरण नियमित कार्यक्रमहरुमा जोकसैले अनुभव गर्न सकिन्छ । यति छोटो समयमै यति ठूलो प्राप्ति भएको छ । साधनस्रोत केही छैन । साथीहरुले दुईचारसय उठाएका भरमा यति महत्त्वपूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सकिएको छ । यसलाई पनि ठूलो उपलब्धीका रुपमा लिनु आवश्यक छ, अध्यक्ष चौधरीको भनाइ छ ।

सँगै काम गर्न हिँड्ने सबै साथीहरुमा उत्तिकै उत्साह हुनु आवश्यक छ । यसो हुन सकेमा हामीले हाम्रो क्षेत्रको साहित्य र कलालाई थप उजागर गर्न सकिन्छ । हामीहामीबीचमा हामीले गरेका कामको महत्त्वबोध अनिवार्य छ, अध्यक्ष चौधरी बताउँछन् । संस्थामा बसेर समाजमा राम्रो काम गर्न थालेपछि सबैले राम्रो सोँच राख्छन् भन्ने छैन । नराम्रो सोँच राख्नेहरुको कमी कुनै पनि समाजमा हुँदैन । आफ्नो क्षेत्रका प्रतिभाहरुबीचमा भावनात्मक सम्बन्ध बढेको र प्रतिभाहरुले अवसर पाएकोमा चिन्तित हुने व्यक्ति वा समूह पनि हरेक समाजमा हुन सक्छन्, त्यो यस क्षेत्रमा पनि हामीले भेट्दै जानेछौँ, यो कुनै नौलो होइन । यस्ता बिर्सनलायक कुराहरुले हामीलाई असर पार्नु हुँदैन । निरन्तर कार्यक्रमहरु आयोजना गर्दै जाँदा एउटै मन्चमा उच्च तहका व्यक्तिहरुसँग पनि रचना सुनाउने अवसर मिल्दै आएको छ । यसो गर्दा सुन्ने र सुनाउनेहरु आपसमा निकट हुँदै जान्छन् । यसले अज्ञानताका कारण कसैको प्रगतिमा उत्पन्न हुने ईष्र्याको भावनामा पनि विस्तारै कमी हुने विश्वास आफूले राखेको छु, समाजका अध्यक्ष चौधरीले बताउँछन् ।

यसपटक अध्यक्ष चौधरीको नेतृत्वमा समाजका सबै सदस्यहरु विभिन्न स्थानबाट कार्यक्रममा रचना प्रस्तुत गर्न कालिकास्थान नगरपालिका पुगे । पुर्वी चितवनमा कालिकास्थान र रापती नजिकै पर्दैनन् । त्यसै गरी अन्य नगरपालिकाहरु पनि कतै नजिक त कतै टाढा अनुभूत हुन्छन् । तर रापती नगरपालिकाका स्रष्टाहरुको हूल पनि उत्साहका साथ कालिकास्थान पुग्यो । त्यसै गरी खैरहनी र रत्ननगर नगरपालिकाका स्रष्टाहरु पनि कार्यक्रमस्थलमा आइपुगे । कालिकास्थान नगरपालिका वडा नं ७, खोलेसिमलमा भएको उक्त कार्यक्रम एकपछि अर्को गर्दै रोचक बन्न पुग्यो । कवि र कलाकार एकै ठाउँ भेला भएपछि कार्यक्रमको रौनक नै बदलियो । समय बितेको थाहै भएन, एक सहभागीले अनुभव सुनाए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएको थियो, कवि केशवराज आमोदी । आमोदीको राष्ट्रिय छवि पनि उल्लेखनीय छ । र साथमा हुनुहुन्थ्यो, विशिष्ठ अतिथिका रुपमा लामो समयदेखि साहित्य सेवामा लागेका अर्का साहित्यकार पुष्प अधिकारी अन्जली । दुवै साहित्यकारहरुको राष्ट्रिय स्तरमा पनि उच्च स्थान र पहिचान छ । यसै गरी अन्य चर्चित साहित्यकारहरु पनि कार्यक्रममा मन्तव्य तथा रचना प्रस्तुत गर्न आइपुगेका थिए । कार्यक्रम समाजका सचिव मिथुन कुँवरले सन्चालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष चौधरीले गरेका थिए । स्वागत 
मन्तव्य उपाध्यक्ष तथा साहित्यकार सुमित्रा महतोले गरेकी थिइन् । 

प्रमुख अतिथि केशवराज आमोदी, साहित्यकार पुष्प अधिकारी अन्जली तथा साहित्यकारहरु ईश्वरी ओझा, रुविन पौडेल, रुद्रराज कँडेल, राजेश रुम्बा र गणेश शर्माले मन्तव्य दिनुका साथै रचना वाचन गरेका थिए । उनीहरुको परिपक्व प्रस्तुति र मन्तव्य नयाँ पुस्ताका कलाकारहरुका लागि प्रेरणा थियो । उनीहरुले पूर्वी चितवन साहित्य समाजको सक्रियता र गतिविधिको खुलेर प्रशंसा गरेका थिए । कलाकार तथा स्रष्टाहरु कुमार सिँजाली मगर, योगी कृष्णनाथ, अनिता वली, एलिना सापकोटा, मिथुन कुँवर, सागर मिश्र, प्रमिला गुरुङ, सृष्टि थापामगर र शैलेश बर्ताैलालगाएतले आआफ्ना रचना र कला प्रस्तुत गरेका थिए । सबैले एकपछि अर्को गर्दै श्रोताहरुको ध्यान तानिरहेका थिए । यसबीचमा साहित्यकार रुद्रराज कँडेलले त कलाकारहरुसँग मिलेर केहीबेर दोहोरीसमेत प्रस्तुत गरेका थिए, यसले कार्यक्रम झन् रोचक र अविस्मरणीय बनेको थियो ।

कलाकाहरुले साहित्यिक कार्यक्रम थप प्रभावकारी बनाएका थिए । कसैले दुःखपूर्ण सम्झनाका गीतहरु सुनाएका थिए भने कसैले आफैले गाएका नयाँ गीतहरु सुनाएका थिए । यस क्रममा कुमार सिँजाली मगरले साथीको सम्झनाको मर्मस्पर्शी गीत सुनाएका थिए जसले सबैलाई मन्त्रमुग्ध पारेको थियो भने एलिना सापकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री ...’ बोलको गीत सुनाएकी थिइन् । पछिल्लो समयमा सक्रियताका साथ लागि परेका कलाकार सुरज कालाखेती र अनिता ओलीले पनि आफ्ना सुमधुर आवाजमा गीत सुनाएका थिए । साहित्यिक कार्यक्रम केआरपि म्युजिक सेक्सन चितवन शाखाका कलाकारहरुको जमघटले निकै रोचक बनेको थियो । कार्यक्रममा उपस्थित सबैलाई खाजा खर्च जुटाउने कार्य साहित्यकार राजेश रुम्बाबाट भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति रहेका चौधरीले हल उपलब्ध गराउने रेडक्रस परिवार, कार्यक्रममा सहयोग पुर्याउने साहित्यकारहरु र सदस्यहरुलाई संस्थाका तर्फबाट धन्यवाद दिएका थिए । पूर्वी चितवन साहित्य समाजले पूर्वी चितवन क्षेत्रमा ल्याएको जागरण र विकास गरेको सामीप्यताबाट प्रभावित भई कार्यक्रमको खाजाखर्च एक्लै व्यहोर्ने उद्घोष गर्ने राजेश रुम्बालाई पनि सभापति चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । यससँगै कार्यक्रम समाप्त भएको थियो र सबै कलाकार तथा रचयिताहरु आआफ्ना घरतर्फ लागेका थिए ।

जति सकिन्छ त्यति सबैले आआफ्ना स्थानबाट केही न केही गर्दै जाँदा समाजको उन्नति हुने कुरामा दुई मत हुन सक्दैन । साहित्य र कलाले समाजमा दिने उपलब्धी सामान्यतः झट्ट थाह पाउन सकिँदैन, यो भर्खरका युवाहरुले बोध र विश्लेषण गर्ने कुरा पनि नहुन सक्छ । मानवसमाजको विकास र सौन्दर्यका लागि यसले पुर्याउने दीर्घकालीन प्रभावको भने अनुमान सहजै अनुमान लगाउन सकिँदैन । साहित्य समाजका सदस्यहरुले अहोरात्र खटेर आफ्नो क्षेत्रमा यसरी पुर्याउँदै आएको योगदानको कदर समयसँगै सबैले बुझ्दै जानेछन् । पूर्वी चितवन साहित्यसमाजले जसरी अन्य संस्थाहरुले पनि ठाउँठाउँमा यस खालका कार्यक्रमहरुलाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।

अध्यक्ष मनोज चौधरी रहेको उक्त संस्थामा एघार सदस्यीय समिति रहेको छ । जसअनुसार उपाध्यक्षमा सन्चारकर्मी सुमित्रा महतो, सचिवमा मिथुन कुँवर, सहसचिवमा सागर मिश्र तथा कोषाध्यक्षमा योगी कृष्णनाथ रहेका छन् । त्यसै गरी समाजको सदस्यमा सुरज कालाखेती, अनिता वली, राजकुमार श्रेष्ठ, राज प्रणय, गिरीधारी चौधरी र अनिल दराई रहेका छन् । खैरहनी, राप्ती, रत्ननगर र कालिकास्थान गरी चार नगरपालिकाका प्रतिनिधिहरु रहेर उक्त समाज गठन गरिएको पेजमा उल्लेख छ ।

(यो जानकारी प्राप्त सूचना, सौराहा अनलाइन, केही फेसबुक पेज र पूर्वी चितवन साहित्य समाजको फेसबुक समूहको पेजका आधारमा तयार पारिएको हो ।)

Sunday, December 4, 2016

नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानमाः कृष्ण सुवेदीको संयोजकत्वमा जापान सन्जाल गठन

नेपाल समाचारपृष्ठ

देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही वर्षयता निरन्तर रुपमा कार्यक्रम गर्दै आएको भौतिक शास्त्र पुनर्निर्माण अभियानले स्वदेश तथा विदेशमा विभिन्न सन्जाल गठन गर्न थालेको छ । यसै क्रममा विश्वव्यापी भौतिक शास्त्रीय महाअभियानका रुपमा नेपालबाट थालिएको उक्त अभियान’को जापान सन्जाल समेत गठन भएको छ । उक्त विश्वव्यापी वैज्ञानिक अभियानले जापान सम्पर्क समितिमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धि सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ । उक्त सन्जालको संयोजकमा संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी रहेका छन् । 



नेपालका केही भौतिक शास्त्री, प्राध्यापक तथा विशेषज्ञहरुको रायसुझावलाई शिरोपर गर्दै केही वर्षअघि थालिएको उक्त अभियानका केन्द्रिय अध्यक्षमा हाल भविन्द्र कुँवर रहेका छन् । अभियानले हालसम्म दर्जनौँ भौतिक शास्त्र प्रवचन कार्यक्रम, परीक्षण र सचेतनामूलक कार्यक्रमहरु अघि बढाउँदै आएको छ । नेपालभित्र काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुगं, म्याग्दी, पर्वत, चितवन आदि जिल्लाहरुमा समेत यस अभियानसँग सम्बन्धित कार्यक्रमहरु गरिएको छ । 


विज्ञानमा परीक्षणात्मक पक्षलाई विशेष जोड दिने उद्देश्यले सजिला र प्राप्य सामग्रीको प्रयोगबाट परीक्षणहरु प्रदर्शन गर्ने र सोको परिणाम सहभागीहरुले सहज रुपमा बोध गर्ने गरी उक्त अभियानले कार्यक्रम सन्चालन गर्दै आएको छ । यस क्रममा त्रिभुवन विश्वविद्यलय, काठमाडौँ विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट, काठमाडौँ मोडेल कलेज, युनिभर्सल उच्च माध्यमिक विद्यालय, हेराल्ड इन्टरनेशनल कलेज, युनाइटेड स्कलर्स एकेडेमी लगाएत देशका दर्जनौँ शिक्षण संस्थाहरुमा परीक्षणहरु सफलतापूर्वक सम्पन्न गरिएको अभियानका केन्द्रिय महासचिव नवीन भावुकले जानकारी गराए ।



नेपाली विद्यालय तथा कलेजहरुमा अध्यापनका क्रमका कोर्सको भारका कारण प्रयोगात्मक परीक्षणहरुलाई समय दिन नसकिने बाध्यताका बीच यस खालका कार्यक्रमहरु निकै उपलब्धिपूर्ण हुने प्रतिक्रिया उपस्थित सहभागीहरुको रहेको छ । 


केही वर्षअघि थालिएको यस अभियान र यसका क्रियाकलापहरुमा नेपाल, भारत, चीन, पाकिस्तान, अमेरिका, नाइजेरिया, बेलायत, साउदी अरब, फिलिपिन्स, बर्मा, भुटान, बंगलादेश आदि विभिन्न देशका भौतिक शास्त्री, गणितज्ञ तथा विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको देखिन्छ । यस अभियानले विज्ञानमा प्रयोगले मात्र सत्यता जाँच्न सक्छ भन्ने मूल उद्देश्यका साथ यस खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ । प्रमाणित आधार भएका नेपाली तथा विदेशी खोजकर्ताहरुका नयाँ खोजहरुलाई अग्रसारण गर्ने मूल उद्देश्यका साथ यस वैज्ञानिक अभियान अघि बढेको छ । 

नेपालको विज्ञानको स्थिति सन्तोषजनक नभएको परिप्रेक्ष्यमा विज्ञान शिक्षाका क्षेत्रमा अभियानले झण्डै दशकअघिदेखि अघि बढाएका क्रियाकलापहरु र परीक्षणहरुलाई विषय विशेषज्ञ, विज्ञान मन्त्रालय र शिक्षा मन्त्रालयले पनि प्रोत्साहन गर्दै आएका छन् । अभियानका क्रियाकलापहरुबाट स्वदेशी तथा विदेशी विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको छ । भौतिक शास्त्र पुनर्निर्माण अभियानका विश्वव्यापी क्रियाकलापहरुलाई जापानमा समेत अगाडि बढाउनका लागि सम्बन्धित कार्यक्रमहरु गर्दै जाने निर्णयका साथ जापानमा यस खालको सन्जाल पहिलाचोटि गठन गरिएको हो । 


परीक्षणका बेला नेपालमै छँदा अभियानका परीक्षण कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गरेका केही अभियन्ता र जापानमै रहँदा पनि सद्भाव व्यक्त गरिरहने सक्रिय र जिम्मेवार सदस्यहरु उक्त समितिमा रहेकाले जापान सम्पर्क समितिले छुट्टै पहिचान स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छु, अध्यक्ष कुँवरले बताए ।


यसबाहेक अभियानले केही समयअघि चितवन जिल्लामा समेत शाखा गठन गरेको छ । उक्त शाखा आश्रिया परियारको नेतृत्वमा गठन भएको थियो । चितवन शाखाले टरौली सामुदायिक पुस्तकालय, रत्न नगर, केआरपि म्युजिक सेक्सन, पर्सा तथा पन्चकन्या बोर्डिङ स्कुल, टाँडी रत्ननगरमा प्रवचन तथा परीक्षण प्रस्तुत गरिसकेको छ । उक्त शाखामा सन्तोष चौधरी तथा मिथुन कुँवर सदस्य रहेका छन् । 

प्रकाशन मितिः २०७३ मंसिर १९ गते, आइतबार ।

Formation of Japan Network of Physics Reformation Campaign



The historical and worldwide campaign for physicists 'Physics Reformation Campaign' has recently formed a network in Japan. The Japan network of the campaign is in the leadership of Mr. Krishna Subedi. In the network, Mr. Prakash Shrestha, Mr. Ramesh Karki, Mr. Bharat KC and Mr. Bikas Subedi are also involved as members.

The campaign had been started before some years from Nepal. Some of the professors, related experts and physicists of Nepal had suggested and encouraged to make the discoveries worldwide by campaigning. After that, the campaign had formed. Now, Mr. Bhabindra Kunwar is the chairman of the campaign. The campaign had demonstrated the related experiments and presented the presentations in different districts and educational institutes of Nepal.

Tuesday, November 1, 2016

दशैँमा मान्यजन र तिहारमा दिदीबहिनी र भैलीले दिएका आशिषहरु लाग्ने


कुनै पनि चाडपर्वमा आफन्तसँग भेट हुने र लामो समयको अन्तरालमा सामान्य हुन गएको परस्परको भावना र मायामा थप उत्साह थपिने हुँदा यसबाट स्वतः लावान्वित हुन सकिने देखिन्छ । आफन्तका बीचमा हुने भावनात्मक सम्बन्धको सुधारलाई फाइदा वा नाफाघाटासँग जोड्नु एक निम्न कोटिको सोचाइ हो । तैपनि विविध बाध्यता र समस्याका कारण यस्ता पर्वहरु मनाउने अवसर मिल्न वा नमिल्न सक्छ, यसलाई आफन्तजनले अन्यथा लिनु हुँदैन । तर कतिपयले दशैँतिहारजस्ता चाडवाडमा आफन्त र मान्यजनले दिएका आशिषहरुलाई निरर्थक भन्ने गरेको पाइन्छ । 

एक थरी मानिसहरु चाडवाडका अवसर पारेर दिएको आशिष लाग्छ नै भन्ने पक्षमा रहेको पाइन्छ भने अर्का थरीले भावनात्मक सम्बन्ध सुधार र समाजका सन्दर्भमा राम्रो भए पनि आशिष चाहिँ लाग्दैन, लाग्ने भए हामी कहाँ पुगिसक्ने थियौँ भन्ने धारणा राखेको पाइन्छ । कतिपय भर्खरभर्खर स्कुले वा विश्वविद्यालयका कुनै तहका पढाइ सकेका युवाहरुले त एक्काइसौँ शताब्दीमा पनि यसो भन्ने ? भनेर अविश्वास गरेको पाइन्छ । बुझाइसहितको पढाइ त विश्वविद्यालय र घरव्यवहारको लामो यात्रापछिमात्र आरम्भ हुन्छ भन्ने कुराको ज्ञान पाउने अवसर नमिल्दा त यो वा त्यो किन भन्ने, तपाईँहामी सबै एकै बारीका बाली हौँ, यो बुझ्नुपर्ने हुन्छ ।

वर्तमान समयमा समाज र नागरिकहरु बढ्दो निराशा र भावनारहित चरम प्रतिस्प्रधा तथा ईष्र्याले ग्रस्त छन् । कतिपय त आजीवन मानसिक रुपमै कमजोर र अस्वस्थ भएको पाइन्छ । हाम्रोजस्तो बेरोजगारी भएको मुलुकमा यस खालका निराशा र दिशाहीनता जस्ता समस्याहरुले झन् विकराल स्वरुप लिँदै गरेको देखिन्छ । यही समस्याका कारण कतिपय नेतृत्वहरु नै विभिन्न प्रकारका तलिम तथा अभ्यासमा व्यस्त भएको देखिन्छ । सकारात्मक सोँच, उत्साह, मनोरन्जन र हर्षका लागि व्यक्ति, समाजसेवी, कर्माचारी तथा अन्य व्यक्तित्वहरुले पुस्तक आदिको अध्ययन तथा तालिममा भएगरेका खर्चहरु पनि धेरै नै मात्रामा रहेका छन्, समय त झनै भइ नै हाल्यो । यसै बीचमा व्यक्तित्व विकास र आफू जन्मेहुर्केको स्थानमा आफ्नो पहिचान बनाउन पनि वर्तमान पुस्तालाई कम चुनौतीको विषय छैन । यी र यस्ता विविध समस्याहरु र यथार्थहरुसँग हामीहरु परिचित नै छौँ । 

सबै उत्साहित र खुशी हुन चाहन्छन्, हामी पनि चाहन्छौँ । राष्ट्रको व्यवसायको स्तर उठाउन र मुद्रालाई चलाएमान गराउन वा विनिमयमा लैजान पनि चाडपर्वहरुको महत्त्व रहँदै आएको छ । यसै समयमा आउने म्हेह पूजा, छठ पर्व जस्ता पर्वहरुले पनि यो देशको आर्थिक विकासमा विशेष भूमिका निर्वाह गर्दछन् । व्यापार व्यवसाय बढ्छ, कारोबार बढ्छ । यस बीचमा सबै मानिससँग चाडवाड मनाउने मनग्य धनपैसा हुँदैन भन्ने कुरा पनि आउँछ । आर्थिक सबलता र दुर्बलताका कुराहरु अन्यदिनहरुमा झैँ चाडवाडमा पनि लागु हुन्छ ।

राष्ट्रमा चाडबाडका लागि भनेरै पनि धेरै परिश्रम गर्न तयार हुने वर्ग पनि छ । तर यससँगै चाडवाडलाई धनसम्पत्ती र शक्ति प्रदर्शनको विषय ठान्ने प्रवृत्तिका मानिसहरुका कारण निम्न वर्गलाई निकै असर पुर्याएको पनि देखिन्छ । सकिनसकी ऋणधन गरेरै भए पनि अरुको सरह हुन खोज्ने अज्ञानताका कारण र प्रभावबाट प्रभावित हुनाका कारण निम्न वर्गीय जनतामा झन् समस्या निम्तिएको पनि देखिन्छ । यसको अर्थ चाडवाड नभएको भए निम्न वर्गलाई राम्रो हुने थियो भन्ने चाहिँ होइन । चाडवाड पनि आएन भने वर्षभरि दुखः गर्ने निम्न वर्गीय जनताहरुलाई जीवनमा एक दिन पनि आफन्तसँग भेटघाट गर्न र गछ्यअनुसारको खुशी बाँडचुँड गर्ने अवसरमा कमी आउनेछ । मजदुरहरुलाई विदा र आनन्दको अवसर गुम्नेछ । उनीहरुका कामहरुका समीक्षा र सहयोग गर्ने आफन्तसँगको सामीप्यता न्यून हुनेछ । त्यसैले चाडवाड सबैको हितमा छ तर सचेत भएर यसको सदुपयोग गर्न सक्नुपर्छ ।

चाडवाडमा पनि अन्य दिनहरुमाझैँ माथिका उल्लिखित र अन्य विविध समस्याहरु र समाधानहरु त छन् नै यसका बीचमा दशैँमा आआफ्ना बाबुआमाको आशिर्वाद र तिहारमा देउसीभैली र दिदीबहिनीले दिएका आशिषहरु लाग्छन् कि लाग्दैनन् भन्ने विषय पनि कताकता चर्चाको विषय बन्ने गरेको देखिन्छ । यस्ता सुन्दर र आत्मीयता विकास गर्ने तथा सामाजिक सद्भाव विकास गर्ने देउसी भैलीजस्ता सांस्कृतिक र परम्परित विषयमा विकल्पको सवाल उठाउनु पनि त्रुटिपूर्ण हुन जाला तैपनि कतिपयलाई भित्रभित्रै यस सवालले पनि घोचिरहने गरेको पाइने हुँदा यस विषयलाई लिइएको हो । अब यस विषयमा प्रवेश गरौँ ।

कुनै बद्मास बालकलाई पनि उसका बाबुआमा, आफन्त, मान्यजन तथा गुरुजनहरुले भोलि ठूलो मान्छे भएस्, हाम्रो इज्जत राखेस् भनेर दिएको आशिषले सकारात्मक भावनाको विकास गरिरहेको हुन्छ । सबैले सबै कुराको सदुपयोग केकति गर्छन् भन्ने कुरा भिन्दै विषय भए पनि उसलाइए सानैदेखि ठूलो हुने आशामा केही न केही मात्रामा कमजोरीहरुलाई सुधारिरहेको हुन्छ । यस्तै आशिर्वादले पनि कतिपयमा भारी सुधार भएको हामी पाउँछौँ । यसरी ऊ ठूलो भइसकेपछि हरेक वर्षमा आफूभन्दा ठूला मानिसले उसले गरेका असल कामहरुको प्रशंसा गर्दै नराम्रा कामहरु छोड्न दिएको आशिषले उसलाई पटकपटक राम्रा काम गर्न घच्घचाएको पाइन्छ । कतिपयले त मान्यजनका हातको टीका थाप्दा कसम खाएर रक्सी, चुरोट, झैझगडा, कुलत आदि छोडेर सही बाटोमा लागेका उदाहरणहरु नेपाली समाजमा प्रशस्त छन् । रक्सी खानेहरुलाई उसका मान्यजनहरुले रक्सी खाने भए मेरो हातको टीका लगाउनै पर्दैन, मलाई ढोग गर्नै पर्दैन भनेको पनि पाइन्छ । यसैबीच कतिपयले निर्णय गरेर जीवनभर खराब चीजको संगत त्यागेका उदाहरण भेट्न सकिन्छ । 

मानिस सफल हुन उसको मनमा उत्साह र आफन्तको सहयोग पनि चाहिन्छ । कतिपय अवस्थामा चाडवाडमा भएका भेट र समीक्षाबाट मानिसहरुका जीवन नै बदलिएको देखिन्छ । कोही आफन्त दुःखमा रहेको छ भने चाडबाडमा भएको आफन्तहरुको जमातले निकै कामलाग्दा सुझाव तथा सहयोगहरु गरेर सफलताको बाटोतर्फ लगेको पनि देखिन्छ । यसबाहेक सुखी वा दुखी हरेक मानिसलाई उसको कामको प्रशंसा गदै अझ सफल हुनु, वैरीका सामु केही गरेर देखाउनु, अरुले छी भन्ने नपार्नू, आफ्ना छोराछोरीलाई राम्रोसँग हेर्नु, बाबाआमालाई पाल्नुताल्नु जस्ता भनाइ र कामनाले पनि उसका लागि तत्काल कतिपय असल योजनाहरु बन्दछन् र सफलताको बाटोमा मानिस लागि पनि हाल्दछ । त्यस्तै विविध कारण र बाध्यताका कारण चिसिएको वा बिग्रिएको सम्बन्धको सुधारमा चाडबाडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सतहमा आम सर्वसाधारणले नै बोध गर्ने गरी हुने आशिर्वाद र यससँग जोडिएका पक्षहरुका फाइदाहरुबाहेकका थप अन्तर्तहका फाइदाजनक चीजहरु मान्यजनका आशिर्वादहरु हुन् । कसैलाई विशेष वातावरण, मानसिकता र अवसर पारेर दिइने आशिर्वादले बाह्य शक्तिको परिचालक आन्तरिक शक्तिलाई वृद्धि गरिदिन्छ । यसैकारण उक्त व्यक्तिले आशिष थाप्दा नथाप्दाका अवस्थामा भन्दा बढी सफलता हासिल गर्न सक्ने सम्भावना बढेर जान्छ । तर यसलाई अन्य व्यक्तिको तुलनाका रुपमा हेर्न मिल्दैन, उसकै प्रगतिको तुलनात्मक सम्भावनाको सन्दर्भसँग मिल्ने कुरा हो । 

केही अन्य प्रकृतिका उदाहरणहरु पनि हेरौँ, कुनै खेलका लागि राष्ट्रिय टिमलाई बिदाइ गर्दा उक्त टिमको अभ्यास र क्षमताका अतिरिक्त सम्बन्धित राष्ट्रका राष्ट्रप्रमुखहरुले दिने उत्साह र समर्थकहरुले दिने हौसलाले पनि खेलमा महत्त्वपूर्ण कार्य गर्ने हुँदा यो विश्वभरि प्रचलित छ । यसै गरी विशेष अवसर, अनुकूल प्राकृतिक वातावरण, उत्साहमय मौसम, सरदरमा फुर्सद आदि संयोग मिलेको सुखद अवसरमा दिइने दशैँतिहार जस्ता चाडबाडका आशिषहरुले यस्तै आधारभूत भुमिका निर्वाह गर्दछन् । गायकगायिकाहरुलाई गुरुले दिने आशिर्वाद, तालिममा प्रशिक्षकले दिने आत्मबलका टिप्स र रणनीति आदि कुराहरुले पनि यस्तै खालका भूमिका निर्वाह गर्दछन् । 

भैलीले दिने आशिष त झनै महत्त्वपूर्ण हुन्छ । एक जनाले नभई धेरै जनाले सुधार होओस् भनी दिएको कामना । अझ संगीतबद्ध र नृत्यसमेतको कामना । यस बेला दिइने आशिषले घरबेटीको मन स्वच्छ छ भने हाम्रो सफलतामा ठूलो भूमिका निर्वाह गर्दछ । मनै प्रशन्न हुन्छ । गौरव हुन्छ । तर यी भैली त नआए पनि हुन्थ्यो, काम नपाएर माग्न आएका भन्ने नकारात्मक भावना राखेका बेला भैलीले दिएको आशिष फलदायी हुन सक्दैन । त्यसै गरी जति छ त्यति दिने र थोरै दिए पनि धेरै दिए पनि घर नबिराएर सबैकोमा सबै उत्तिकै सम्मानपूर्वक गइदिने परम्परा भैलीले पछ्याएनन् भने ती भैलीले दिएको आशिष पनि लाग्दैन किनकि परस्परमा भावनाको मिलन हुन पाउँदैन । त्यसैले सबैले राम्रो भावनासहित, असल र आधारयुक्त कामना र आशिष दिने र त्यो पनि संगीत तथा नृत्यका साथमा दिने हुँदा भैलीको आशिषको विशेष र दीर्घकालीन लाभ छ । समाजमा सम्मान र सम्बन्ध कायम गर्ने विशेष अवसर पनि भैली हो । 

दिदीबहिनीले गर्ने सप्रेम कामनाले पनि दाजुभाइको मन प्रफुल्ल हुन पुग्दछ । यसभित्र पर्ने अनेक विधि परम्पराले झन् मानिसका उत्साह र क्षमतालाई नवीकरण नै गर्न पुग्दछन् । तर औषधी पनि खानापछि खानेलाई खानअघि खाँदा वा उमेरअनुसार तोकिएको मात्राको वास्ता नगरी घटी वा बढी खाने गरेमा लाग्दैन भनेझैँ नकारात्मक भावना राखेमा र नराम्रो मात्र देखेमा दिदीबहिनीका कामना र देउसीभैलीका कामनाहरुको फल पनि नकारात्मक नै हुन सक्ने सम्भावना हुन्छ । यसरी औषधीमा प्रयोगकर्ताले भूल गरेका एकाध घटना र अर्थमा सम्पूर्ण मेडिकल साइन्सलाई नै बेकारको भन्न नमिलेझैँ विधि र अनुशासनभित्र नरही खेलिने भैली, तडकभडकको चाड मान्ने दाजुभाइदिदीबहिनी र जनमानसको बुझाइका आधारमा सम्पूर्ण भैलीपरम्परालाई निरर्थक भन्न मिल्दैन । सही वातावरण, शुद्ध भावना र विश्वासका साथ प्राप्त गरको आशिष लाग्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । अज्ञानतावश आएका विकृति, ढोँग, बडप्पन, तडकभडकजस्ता कुराहरुलाई भने हामीले अँगाल्नु हुँदैन । चन्द्रमामा भएका कालादागको विरोध गरेर र असन्तोष व्यक्त गरेर आफूमा नकारात्मक भावनालाई प्रश्रय दिनुभन्दा यसले दिने शान्त प्रकाश र आनन्दलाई लिन सक्नुपर्छ । यस कुरामा सबै सचेत हुनु आवश्यक छ ।

अन्त्यमा, जस्तो, कुनै एक समाजसेवी जो सकारात्मक सन्देशका लागि बेलाबेलामा एनजिओ तथा आइएनजिओमा तालिम लिएको हुन्छ र उसले चाडवाडमा दिइने शुभकामना वा आशिर्वादले के काम गर्दछ ? भन्यो भने उसमा शुभकामनालाई पनि नकारात्मक रुपमा लिने सम्मको खतरनाक मानसिक समस्या रहेछ भनेर बुझ्दा अन्यथा हुनेछैन । उसको भनाइका आधारमा राष्ट्रको उत्साह वा शोकमा राष्ट्रले गर्ने विश्वभरिका देशहरुका प्रचलनहरु निरर्थक हुन्छन् । यसर्थ सकारात्मक सोँचको विकास भई नसकेका कथित शिक्षित अव्यवहारिक मानिसहरुले गर्ने विश्लेषण र प्रचारप्रसारको शिकार अन्य सर्वसाधारण मानिस भए भने त्यो परिणाम अन्ततः राज्यका लागि हानि पुर्याउने खालको हुन्छ । हामीलाई थाह छ, अमृतमा विष मिसाउँदा अमृत पनि विषाक्त नै बन्दछ । उसले एकदिन आफू जन्मेको धर्ती वा आफूलाई यो तहमा ल्याइपुर्याएको परम्परा र सामाजिक मूल्यलाई अविश्वास गर्न सक्छ । के असल हो र के खराब हो भन्ने कुराको विश्लेषण गर्ने अवसर नपाएरै त्यस्ता कतिपय मानिसहरुको जीवन बित्दछ । उनीहरुले आमाबाबुलाई आमाबाबु हुन् कि होइनन् भनी शंका गर्न पुग्छन् । कतिपयले आफ्ना आमाबाबुलाई पनि यस्ता नकारात्मक प्रचारकको प्रभावमा परी पराइको व्यवहार गर्दछन् र आफूलाई सर्वेसर्वा ठान्दछन् । त्यसैले समयमै असल संगत गर्न नछोडौँ नत्र हामी पनि यस्तै विचारको शिकार बन्न सक्छौँ । विकृति र विसंगतिहरुलाई दुरुत्साहन गर्दै हामीले हाम्रा आफन्तजन, मान्यजन, दिदीबहिनी र देउसीभैलीका आशिष लाग्ने कुराको रहस्यलाई हृदयदेखि 
मनन गर्दै जाऔँ । अरुले असल हुन गरेको कामनालाई पनि प्रश्न उठाउछौँ भने हामीमा नकारात्मक भावनाको समस्या झन् बढेर जानेछ । यही सोँच नै असफलताको बीज हो, कारण हो ।


-डब्ल्यूडी

Sunday, October 30, 2016

ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ?



१४ कार्तिक २०७३ बेलुकाको ६ बज्दै गरेको समय । भर्खर कम्प्युटर खोल्दै । जम्मा ४ मिनेट ४७ सेकेन्डको भिडियो । फेसबुक वाल हेर्दै । वालमा एउटा भिडियोको लिंक आयो । शीर्षक घटनाप्रधान थियो । क्लिक गरिहालियो । हेर्दा त एक भिडियो युट्युबमा अपलोड गरिएको रहेछ । उक्त भिडियो कतिसमयसम्म युट्युवमा रहन्छ भन्ने कुराको यकिन गर्न सकिँदैन । मैले पनि उक्त लिंक यहाँ दिने हिम्मत गरिनँ । उक्त भिडियो हेर्दा जोकसैको मनमा पनि विभिन्न कुराहरु खेल्न सक्छन् । हाम्रो समाजको समस्याको डरलाग्दो चलचित्र । नेपाली राजनीतिले निम्ताएको हाम्रा बालबालिका र हाम्रो राष्ट्रको अत्यन्तै चिन्ताजनक भविष्य ।



भिडियो । कतिबेला कुटाइपिटाइ छ । कतिबेला क्षमाजस्तो भाव पनि छ । भनिएका दोषीहरुले दोषी होइनौँ पनि भन्ने र वरपरकाले किन होइन भनी प्रश्न । पिटिनेहरु होइन भन्न नसकेको । यसपछि फेरि सुरु हुन्छ केटाको पिटाइ । पिटाइ केहीबेर रोकिन्छ । दोषी भनिएको केटाकी आमाजस्तै लाग्ने एक महिला केही भन्छिन् । दोष महिलाको पनि छ ऊ बोलिने मेरो छोरालाईमात्र पिटे । लौ मार्न थाले । यसपछि पिट्नेको मन बदलिन्छ ।


श्रीमतीलाई पनि सँगै राख्नुपर्छ नत्र त श्रीमतीलाई जोगाएर केटालाईमात्र पिटे भन्नेछन् भन्ने सोँच आएजस्तो लाग्ने दृश्य । भनिएका दुवै दोषीको हात जोडदै । दुवैलाई पिट्छ । हान्ने चीजचाहिँ बाहिरबाहिर दुखाउने खालको छनौट गरेको वा त्यस्तै छनौट गर्न लगाइएको हो कि भन्ने पनि देखिन्छ । मानौँ कोर्राजस्तै न । उसले हातले हान्दा पनि बढी नै चोट पुग्न सक्छ भनेर त्यो वस्तु प्रयोग गरेको हो कि भन्ने अनुमान लगाउने ठाउँहरु पनि छन् । यस्तैयस्तै जोश, होश र रिसको आरोहअवरोह छ उक्त भिडियोमा ।


झगडा वा पिटाइ वा सामाजिक कारवाहीको विषय यौन प्यासको रहेको छ । घटना हेर्दा उक्त केटासँग भागेर उसकी श्रीमती ९ दिनदेखि भागेकी र लोग्ने श्रीमतीको खोजीमा ९ दिनदेखि भोकै छ । उसले श्रीमती र उक्त केटालाई सोधिरहेको छ, तिमीहरुले नराम्रो काम गर्यौ कि गरेनौ ? हामीले नराम्रो काम गरेका छैनौँ, उनीहरुले भन्छन् । मतलब परस्परमा यौनसम्पर्क गरेका छैनौँ भनिरहेका थिए । यसरी सोध्दा ९ दिन हराए पनि त्यस्तो नगरेको भए स्वीकार गर्न हुन्थ्यो । लोग्ने केटाको मन भित्रभित्रै बोलेजस्तो प्रतीत पनि हुन्छ । यतिबेला लोग्ने पत्याएजस्तो गरेर र पिटाइ रोकेको जस्तो देखिन्छ । उसले श्रीमतीमा कति धेरै विश्वास गर्दो रहेछ । माया गर्दो रहेछ । देखिन्छ त्यस्तै ।


उसले अरुले नबोल्दासम्म उक्त केटाको मात्र दोष देखाउन खोजेको भान हुन्छ । तर वरपरका छिमेकीहरुले यत्रो ९ दिनसम्म भगाएर राखेर पनि केही गरिनँ भन्ने ? भनेपछि ऊ फेरि ए हो त भन्ने भावमा आई फेरि पिट्छ । यतिबेला भने सम्भवतः बाध्य भएर र लोकलाजका कारण होला उसको मुखबाट आउँछ, यस्ता श्रीमती नभए पनि केही छैन । उसले उनीहरुलाई पिट्दा र उनीहरु पिटाइदेखि तर्किएको देख्दा उसले भन्छ यत्रो ९ दिनसम्म मैले भोकभोकै बस्दा कस्तो भए होला, तिमीहरुलाई भने यति हान्दा पनि दुख्ने ? उसको रिसभित्र क्रन्दन छ, बोल्दा बोली रोकिएजस्तो वा रोएजस्तो पनि आउँछ । ऊ पीडित पनि हो, कथाले त्यसै बताउँछ । तर दृश्यले कानुनी दायरामा जानुपर्नेमा सीमाभन्दा बाहिर गएको देखाउँछ । देखिन्छ यो पनि, पिटिनेहरु पीडित छन् ।


यसपछि भने उसले सम्भवतः केटालाईमात्र दोष दिएर र पिटेर समाजका अघि अब मेरी श्रीमती चोखी हुँदिने भन्ने भावनाले काम गर्छ । उसले पिट्दै भन्छ, तँजस्ता दुलही फेरि आज पनि भाग् । यतिबेलाको चोट भने होश गुमेको भावको छ । अलिक हेर्न नसकिने खालको । समाजद्वारा भनिएका दोषीहरुका तर्फबाट श्रीमतीको चिच्चाहट निकै डरलाग्दो र कलालीलाग्दो सुनिन्छ । यतिबेलाको चिच्चाहट सुनेपछि दर्शकमध्येका कुनै महिलाले रोक्न खोज्छिन्, चौकीमा लैजाने भन्ने कुरा आउँछ । फेरि कसैले यो माया गर्ने खन्ड वा काम होइन, तपाईँलाई पनि पर्ला है भन्छन् । ऊ पनि पछि हट्छे ।


यहाँ तपाईँलाई पनि पर्ला भनेको के हो ? यस्तै परिस्थिति ? खैर, बुझ्न सकिने भाषा थिएन यो । भिडियोको दृश्यलाई हेर्ने हो भने चोट त होइन होला ती महिलालाई पर्ला भनेको, किनकि उसले पिटिरहेका बेला अन्य मानिस तथा बुढाबुढीलाई आदर गर्न छोडेको छैन । यसपछि एकछिन पिटाइ रोकिन्छ । पिटिने केटा उठेका बेला सबैले बस्न भनेपछि फेरि ऊ बस्छ । समाजले जेजे भन्छ त्यही मान्दै झपड खाएको स्थिति उनीहरुको छ ।


त्यतिबेला श्रीमती भनिएकी युवतीबाट एक जना दिदिले ढोका लगाइदिएको भन्ने कुरा आउँछ । फेरि कुनै सोझी महिलाजस्तै लाग्ने आवाजले भन्छ, तिमीहरुले गलत काम गरेका हौ । उनीहरुले यो मान्दैनन् । यतिबेला पिट्नेले भन्छ, मेडिकल गरम् ? उनीहरु चुप बस्छन् । यसपछि फेरि केही चोटहरु थप्छ उसले । सारै दुखेपछि बरु मर्छु मार, पिटिने महिला वा उसकी श्रीमतीले भन्छे ।


दृश्यले मोड बदल्छ । १ लाख २० हजार रुपैयाँ माग्दछ श्रीमान्ले । श्रीमतीले भन्छे, मैले खाएँ छोराछोरीलाई खुवाएँ । यी छोराछोरी तपार्इँका नै हुन् । मैले एक रुपैयाँ पनि ल्याएकी छैनँ, उसको दाबी छ । यही बीचमा पिटिने जोडीले घरमा चावी लगाएर हिँडेको कुरा पनि समाजकी एक महिलाबाट खुल्छ । अन्त्यमा जे भए पनि हिसाब त चाहिन्छ भन्दै ती श्रीमानश्रीमतीको तत्कालका लागि विछोडको यकिन हुन्छ । यसरी नेपाली समाजको एउटा विकराल पाटो बोकेको उक्त ४ मिनट ४७ सेकेन्डको भिडियोमा भएजतिको नाटकीय दृश्य समाप्त हुन्छ ।


उक्त भिडियोमा शायद विदेश बसेको एक पुरुषले डोरी वा पेटीजस्तो देखिने वस्तुले कोर्रा लगाएझैँ दुई जनालाई पालैपालो प्रहार गरेको देखिन्छ । उक्त युवा कतिबेला सोझो प्रतीत हुन्छ र कतिबेला रिसाहा जस्तै । उसले प्रहार गरेका चोट खाने पात्रहरु पनि भाग्ने दौडिने गरेका छैनन् र समाजका सामु आफ्नो गल्ती स्वीकार गरेको जस्तो भान हुन्छ । यस खालको दृश्य रहेको भिडियो कसले खिच्यो र युट्युबमा आइपुग्यो भन्ने कुरा पनि रहस्यमय हुन सक्छ । पिट्ने वा पिटिने एक पक्षले खिच्यो वा कोही बाहिरको व्यक्तिले यसो गर्न लगाएर भिडियो बनायो र कसैलाई दियो ? यो अनुसन्धानको विषय हुन सक्छ ।


यो कथात्मक यथार्थपछि रह्यो, हाम्रो चासोको विषय । हाम्रो चासोको विषय यो होइन, तर यस्ता घटनाहरु नेपाली समाजमा बढिरहेका छन् भन्ने कुरा हामीजस्ता आम सर्वसाधारणका लागि महत्त्वपूर्ण हो । यो एक प्रतिनिधि कथा वा घटनामात्र हो । यस्ता दृश्यहरु गाउँघरमा भइरहन्छन् । एकातिर चरित्रहीनताको पराकाष्ठा र अर्कातिर समाजले यौनजन्य गतिविधिलाई हेर्ने दृष्टिकोणको पराकाष्ठाका । कारण यस्ता घटनाहरु दोहोरिन्छन् ।


अब सोचौँ, ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ? बाबुले रिसाउँदै र उसको साख मार्न भन्दै अर्की विवाह गर्ला । ऊ पनि महिला हो । उसले पनि त्यही युवकसँग बिहे गर्नुपर्ने होला । ऊ पनि पुरुष हो । ती बालबालिकाहरुले अब कस्तो परिवारको स्तर, शिक्षाको वातावरण र भविष्य पाउलान् ? नेपाली केही गैर जिम्मेवार प्रवृत्तिका नेताहरुले गरेको राजनीतिले अझसम्म ग्रामीण र निम्नवर्गीय जीवन गुजाराका लागि विदेशिनुपर्ने नतिजा दिएको त छ नै । यस्ता थुप्रै नेपाली बालबालिकाको भविष्यमाथि बेवास्ता र खेलवाड गर्ने कार्य पनि भइरहेको छ । (ed.)


स्रोत: with the help of a video on kbronline20.blogspot.com.गणेश, नेसपृ., २०७३ कार्तिक १४ गते ।


भुसुनाहरुको राष्ट्रभक्ति स्टाटस् र जोडदार हावाहुरी


हावाहुरी भन्नाले हावा चलेर बनेभनेको हुरी । अडिन नसक्ने लक्षण भएको पदार्थको एक विचलित प्रकार । अन्यत्रै केही वाष्पीकरण भएपछि आफ्नो स्थानमा अडिन नसकेर अरुको स्थानको अभाव पूर्ति गर्नका लागि उतैतिर जान दौडधूप गर्दा बस्ती अन्धकार बनाउने गरी चल्ने एक पदार्थ, तरल भन्दा पनि हुने । विचलित पदार्थ भन्दा पनि हुने ।

बढी घनत्त्व भएका ढुंगा र बलिया वस्तुलाई छोडेर घनत्त्व कम भएका वस्तुहरुलाई फनफनी नचाउने । कुइरीमण्डल लगाउने । शक्तिशाली । मूलतः हरिलाभरिला र बलियाभन्दा सुकेझरेका पातपतिंगर, सानो असरले ध्वस्त हुने डाँड भएका बोटविरुवालाई नछोड्ने ।  

हुरी । आफ्नो आफूजस्ता पदार्थहरुको घनत्त्व वा प्रभाव कम भएको स्थलतिर दौडिन जोडजबरजस्त, धमरधुस गरिरहने एक उकरमाउलो वस्तु । परन्तु बढी घनत्त्व भएका ढुंगा र बलिया वस्तुलाई छोडेर घनत्त्व कम भएका वस्तुहरुलाई फनफनी नचाउने । कुइरीमण्डल लगाउने । शक्तिशाली । मूलतः हरिलाभरिला र बलियाभन्दा सुकेझरेका पातपतिंगर, सानो असरले ध्वस्त हुने डाँड भएका बोटविरुवालाई नछोड्ने । निकै प्रभाव पार्यो भन्ने पार्नका लागि टिनजस्ता हल्लाखल्लायुक्त वस्तु पनि उडाउन सक्ने क्षमता भएको भयानक स्वरुपको पदार्थ । हात्तीहरु होइन साना भुसुनाहरुको स्थायी ठेगानै परिवर्तन गराउन माहिर । अनिश्चित स्वभाव भएको । हुरीहावा, हावाहुरी, हावा, हुरी । बतास चाहिँ होइन । पवन होइन । हुरी ।

हुरी चल्दा सबैका आँखामा कसिंगर पर्छ, आँखाहरु छोपिएका हुन्छन् । यस्तो बेला दृश्यहरुमात्र होइन, हुरीसँग लतारिन्छन् ध्वनिहरु पनि । 

राष्ट्रका जिम्मेवार व्यक्तित्वहरुले एक सानो स्टाटस दिएछन्, सामाजिक संजालहरुमा । उनीहरु पनि भुसुनै होलान्, जिम्मेवारहरु प्रायः भुसुनै हुन बेर लाग्दैन । उनीहरुको ठेगानामा पनि हलचल होलाजस्तो भएर होला, उनीहरु चिच्चाएको । हुरी चलेका बेला चिच्चाएर कसैले सुन्छन् कि भन्ने आत्तिएको महत्त्वाकांक्षा होला उनीहरुको यो । हुरी चल्दा सबैका आँखामा कसिंगर पर्छ, आँखाहरु छोपिएका हुन्छन् । यस्तो बेला दृश्यहरुमात्र होइन, हुरीसँग लतारिन्छन् ध्वनिहरु पनि । दिमाग ज्ञानेन्द्रियको अन्योलतामा दिशाहीन बन्छ । दिशाहीन मन । यस्तो बेला शरीर चलाउने यन्त्र नै होस्मा हुँदैन । तैपनि एक प्रयत्न गरेछन्, प्रशंसनीय छ । कसरी यो सोच्न भ्यायौ ? धेरैहरु त धुलोधूवाँले मेसोमेलो पाइरहेका छैनन् ।

ए भुसुनाहरु तिमीहरु हुरीजस्तो निर्जीव पदार्थसँग के माग गर्दछौ ? आँखामा आँसु छन् मेरा पनि तर म यी लेख्दालेख्दै हासेँ । भावना भनेको के हो ? हावालाई सोधेर पाइन्छ ? हँ ? हावासँग रोएर पाइन्छ ? तिमीले तिम्रो सप्पै ६५ लिटर आँसु प्रदर्शन गरे पनि हावाले तिम्रा आँखामा धुलो फाल्न छाड्नेछैन । ऊ हावा हो ।

हुरीका लागि बराबरी भनेको के हो ? के हो समानता भनेको ? किन सोधेको ? आवेग हो ? हुरीका लागि त तराजु एकातिर तल हुनुजस्तै यताबाट सबै हावा उता र उता जानु होइन र ? ए भुसुनाहरु तिमीहरु हुरीजस्तो निर्जीव पदार्थसँग के माग गर्दछौ ? आँखामा आँसु छन् मेरा पनि तर म यी लेख्दालेख्दै हासेँ । भावना भनेको के हो ? हावालाई सोधेर पाइन्छ ? हँ ? हावासँग रोएर पाइन्छ ? तिमीले तिम्रो सप्पै ६५ लिटर आँसु प्रदर्शन गरे पनि हावाले तिम्रा आँखामा धुलो फाल्न छाड्नेछैन । ऊ हावा हो, हावा । हावा  हुनु भनेको सँधै हावाको अभाव भएतिर अभाव पूर्ति गर्नु हो । तिमी हावा कि निर्जीव पदार्थ हावा ? हँ ? बरु तिमी हावा हुनु भनेको चेतना र बुद्धिको सवालको कुरा हो, बुझ्यौ ? 
By D.D.