(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Saturday, October 29, 2016

श्रीमान् विदेश गएपछि घरपरिवारमा निम्तिन सक्ने खतरनाक समस्याहरु र तिनको समाधान


१. परिवारका सदस्यका कारण आउन सक्ने समस्या

धनदौलत नहुँदा अभावको आक्रोश र हुँदा असन्तोषी मनको छाया । यसर्थ पनि विवाहित जोडीमा एकअर्कालाई बुझ्ने कुरामा कमी आउन जान्छ । यस्तै समस्या र अभावका कारण स्वदेशमा जागिर वा अवसर नपाएपछि परिवारको एक सदस्य श्रीमान् विदेशिन पुग्छ । जब ऊ बिदेसिन पुग्छ तब परिवारको माग, अहम् र शान बढेर जान्छ । परिवारभित्र पनि सम्बन्धित श्रीमतीको स्वभावमा धेरै परिवर्तन आउँछ । कतिपय महिलाहरु त श्रीमान् विदेश गएको भोलिपल्टै शहरतिर कोठा खोज्नतिर आइपुग्छन् । आम्दानी बढ्दा आकांक्षा पनि बढेर जानुलाई कम अस्वाभाविक ठानिए पनि यसले क्रमशः एकपछि अर्को चरणमा परिवारलाई चुकाउँदै र पतन गराउँदै जान्छ । अन्य परिवारका सदस्यको कुरा सुन्दा श्रीमती रिसाउने श्रीमतीको कुरा सुन्दा परिवार टाढिने बाध्यताका बीच लोग्ने बाँचेको हुन्छ भने विदेशमा झेल्नुपर्ने समस्याले पनि उसलाई पिरोलेको हुन्छ । यसबीचमा घरपरिवारका कुराका प्रभावमा श्रीमान् पर्दा वा श्रीमतीले माइतीका कुरा सुन्दा परस्परमा फाटो आउन पुग्छ । यस अवस्थामा दुवैले एकअर्काका समस्या र बाध्यता नबुझी आफ्नै समस्यालाई ठूलो देख्नुमा कमजोरी हुन पुग्छ । यस समयमा दुवैले परस्परका भावना र बाध्यता बुझ्ने र आफूलाई सच्चाउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।


२. रमझमको रौनक र प्रभावले निम्ताउने संकट

घरमा समस्या परेपछि वा घरको व्यवहार धान्न विदेशिनु परेपछि कतिपय युवाहरु विदेशमा पुग्दासाथ एकाएक घरपरिवार र श्रीमती बिर्सन पुग्छन् । उनीहरु सम्बन्धित देशको स्वतन्त्रता, सुविधा र रमझममा भुल्दछन् । एकातिर तलबबाट आएको पैसा अत्यधिक खर्च गर्दछन् भने अर्कातिर मदिरा आदिको सेवन गरेर घरबार बिर्सने गरेका उदाहरणहरु पनि बाहिर आउने गरेको पाइन्छ । यसै बेला श्रीमतीलाई कसैले उसको श्रीमान्का सम्बन्धमा नराम्रा खबर सुनाइरहँदा उसको मनमा विकल्पको सोँच आउन पुग्छ । यही भावनाले परस्परको व्यवहार र बोलीचालीमा पनि भिन्नता आउन पुग्छ । यसरी बोलीचालीमा देखिने समस्या र शंकाहरुको वृद्धिसँगै अन्ततः उनीहरुका बीचको सम्बन्ध समाप्त हुन पुग्छ । यसबाट बिदेशिने व्यक्ति पनि विकृत बन्दछ । घरमा श्रीमतीले अर्को बाटो सोच्दा वा सम्बन्धविच्छेद गर्दा उसमा झन कुलतमा लाग्ने प्रवृत्ति बढेर जान्छ । उता घरपरिवारका सदस्य पनि पहिलेका तुलनामा झन पीडित हुन पुग्दछन् । त्यसैले विदेशिने युवाहरु यस खालका रौनक र रामरमिताका नराम्रा पक्षबारे सचेत हुनु आवश्यक देखिन्छ । 


३. सुखले दिने दुःख

सरदरमा हेर्दा महिलाहरुमा प्रायः सुन्दरता र सुखसुविधाको भावना रहने मानिन्छ । पहिले अभावमा बसेका वयस्क उमेरका महिलाहरुमा श्रीमान् घरमा नहुँदा र पहिलेका तुलनामा पुगिसरि हुँदा केही न केही परिवर्तन देखिन्छ । सुखलाई नियन्त्रणमा राख्न र यसलाई जीवनको लामो यात्राका लागि सदुपयोग गर्ने क्षमता विकास नभएका महिलाहरुमा यस खालको समस्या देखिन्छ । बिनाबुझाइ एउटाले जे गर्यो अर्कोले पनि त्यही गर्नुपर्ने केटाकेटी भावनाले काम गर्दा कपडा, गरगहना, मोबाइल, साधन, धनदौलत आदि प्रदर्शन गर्ने मानसिकताले उनीहरुलाई नै दीर्घकालमा पतनको बाटोमा लैजान पुग्छ । यसका कारण घरखर्च बढ्ने र अझ खतरनाक पक्ष भनेको अनावश्यक र निरर्थक चीजहरुमा खर्च गर्ने बानीको विकास हो । यसै कारण घरपरिवार आम्दानीको श्रोत बढेपछि सम्पन्न हुनुको साटो झन् ऋणी र विपन्न बन्न पुग्दछ । जसका कारण आफू र आफ्नो घरपरिवार नै संकटमा पर्न जान्छ । त्यसैले यस्ता सौख र भ्रमित आनन्दबाट समयमै बच्नु महिलाको कर्तव्य हुन आउँछ । 


४. चरित्रहीन स्वभावको असर

पुरुष विदेश गएपछि घरधन्दा धानौँला भन्ने सोँच भएका एक थरी महिलाहरु हुन्छन् भने अर्का थरी महिलाहरु श्रीमान् विदेश गएपछि चरित्रहीन क्रियाकलापमा लाग्ने बाटो खुल्न जाला भन्ने सोचेका हुन्छन् । कतिपय महिलाहरु श्रीमान् विदेश गएपछि घर छोडेर भाडामा बस्ने र विभिन्न कुलतमा लागेका मानिसहरुको संगत गर्ने गरेको पनि पाइन्छ । मदिराको सेवन, खराब मानिसको संगत, घरपरिवार र संस्कारको अवमूल्यन आदिका कारण परिवारको इज्जतमा आँच आउन पुग्छ । श्रीमान्ले यसबारे थाह नपाए पनि परिवारका सदस्यहरुले यस खालको चरित्रहीन क्रियाकलाप सहन गर्न सक्दैनन् । उसको क्रमशः बिग्रँदै गएको बानीमा सुधार आउने सम्भावना पनि निकै क्षीण हुन पुग्दछ । यसैले श्रीमतीले केवल सम्पत्तीका लागिमात्र श्रीमान् भन्ने सोच्दछे । यही सोचाइका कारण परस्परमा सम्बन्ध टुंगिन्छ । यस्ता समस्या निम्तिन नदिन महिलाले समयमै नैतिक संगत र पारिवारिक वातावरणबाट अलग हुनु हुँदैन ।


५. अन्त्यमा


विदेश जानुपूर्व परिवारका सदस्यसँगको भावना र प्रतिबद्धतालाई श्रीमान् तथा श्रीमती दुवैले बिर्सँदा समाधान भनिएको बाटो समस्याको कारण बन्न पुग्दछ । परिवारका सदस्यले पनि पहिलेको भावना र पछिल्लो अवस्थाको भूमिकाको तुलना गर्न सक्नुपर्दछ । यसरी नराम्रो संगत, अरुका कुरा सुन्ने प्रवृत्ति आदि कारणले सुन्दर सपना बोकेको परिवार लथालिंग र भथाभुंग बन्न पुग्दछ । यसबाहेक असन्तोषी भावना, अनावश्यक शंका, अरुको ईष्र्याका कारण उत्पन्न आकांक्षा आदि पनि परिवारको सम्बन्धमा आँच ल्याउने पक्षहरु हुन् । यी सबै पक्षहरुको असरबारे परिवारका सबै सदस्यले जान्नुपर्ने हुन्छ । यसैले यस्ता निर्णय गर्नुपूर्व डायरीमा लेखेर परिवारका कर्तव्य र भावी योजनाहरुलाई सदैव स्मरण गर्न पनि सकिन्छ । परिवारको सबै सदस्यले एकअर्काका भावनाको कदर गर्ने बानीको विकास क्रमशः गर्दै गएमा परिवार बिग्रनबाट बच्न सक्छ । त्यसैले सबैले सधैँ सतर्कतापूर्वक कदम चाल्नु आवश्यक हुन्छ । 

डब्ल्यूडी

No comments:

Post a Comment