(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Saturday, October 29, 2016

सफल कलाकारहरुमा वैवाहिक समस्या


आरम्भ

वैवाहिक सम्बन्धमा समस्या निम्तिएका र बहुविवाहका समस्याहरुका उदाहरण नेपाली कलाकारहरुमा निकै मात्रामा देखिन्छ । विश्वस्तरमा र नेपालमा चर्चित गाएकगायिका, चलचित्रकर्मी, संगीतकर्मी आदिमा पनि यस खालको समस्या देखिँदै आएको छ । पुरुष कलाकारहरुमा मात्र नभई महिला कलाकारहरुमा समेत यस खालको समस्या देखिन्छ । उनीहरुलाई यो थाह हुँदैन कि आज कुनै कार्यक्रममा हजारौँले दिने तालीको क्षणिक ध्वनि र त्यसपछि फ्यानहरुले गर्ने माया र प्रशंसाको उन्मादलाई थाम्न सकिएन भने जीवनको उत्तराद्र्धको बोध र पारिवारिक सम्बन्ध कस्तो हुन जान्छ भन्ने कुरा । अनि आफ्नो नैतिक बल कति ह्रास हुन्छ भनेर ।

पुरुष कलाकारमा देखिने समस्या

घरमा असल र योग्य श्रीमती भएर पनि विहे भएको छैन भनी ढाँटेर अर्को बिहे गर्ने कलाकारहरुको कमी छैन नेपालमा । कलाकारले कलाकार नै रोज्नुपर्छ भन्ने भावना बोकेका र केही बिग्रिएका मानिसहरुको संगतको प्रभाव बिहे गरेका पुरुष कलाकारहरुमा देखिन्छ । उनीहरुले धन, शक्ति र नामको घमण्डका बेला केही पनि सोच्न भ्याउँदैनन् । सफलताका बेला उनीहरुमा आत्म नियन्त्रण क्षमता निकै क्षीण हुन पुगेको हुन्छ । 

महिला कलाकारमा देखिने समस्या

महिला कलाकारहरुमा पनि घमण्डले जरो गाढेको हुन्छ । कुनै गीत वा चलचित्र सफल भयो भने पहिलेको श्रीमान् आफूभन्दा निकै सानो कदको भएको भावना आउँछ । आफू नै सम्मानित र उच्च भएकाले सानो तहको श्रीमान्लाई श्रीमान् भन्दा आत्मसम्मानमा आँच आउने सोँच उनीहरुमा देखिन्छ । यसैले घमण्ड, उचाइको उन्माद आदिका कारण सम्बन्धबिच्छेदतर्फको गन्तव्यतर्फ दुवै हानिन पुग्छन् । सफलताका बेला उनीहरुले यो पनि भुल्छन् कि उनीहरुभन्दा माथि कति धेरै कलाकारहरु छन् । 

अन्त्यमा

कलाकारहरुले कलामात्र सिकेर हुँदैन । असल संगत, जीवनदर्शन र नैतिकता तथा संस्कारका कुराहरु कहिल्यै भुल्नु हुँदैन । यसतर्फ नेपाली कलाकारहरुको ध्यान जानु आवश्यक हुन्छ । आफूले जस्तोसुकै सफलता हासिल गरे पनि आमाबाबुको छोरा नै हुँ श्रीमतीको श्रीमान नै हुँ र श्रीमानको श्रीमती नै हुँ भन्ने भावना बिर्साउनेसम्मको सफलता संसारमा कहिँ पनि हुँदैन भन्ने भावना लिन सकिँदैन भने ऊ कलाकार हुने योग्यताको व्यक्ति नै होइन भन्ने बुझ्नुपर्छ । तर अज्ञानता र क्षणिक प्रभावमा परी उनीहरुले सुन्दर र मूल्यवान् जीवन बर्बाद गर्न पुगेको देखिन्छ । यसतर्फ नेपाली कलाकारहरु पनि बेलैमा सचेत हुनु आवश्यक छ । अन्यथा, बौद्धिक जमातले कलाकारहरुलाई हेर्ने दृष्टिकोण झन् संकीर्ण बन्न सक्छ । 

-डब्ल्यूडी

No comments:

Post a Comment