(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Saturday, October 29, 2016

दाम्पत्यजीवन पूर्णतः विवादरहित हुन नसक्ने



  • एक अर्थमा परिवार पनि एउटा सानो घरायसी राज्यजस्तै हो । यहाँ पनि कुनै न कुनै व्यक्तिको नेतृत्व स्वीकार हुनु अनिवार्य हुन्छ । समाजमा पनि आदरणीय व्यक्तिहरुको आदर गर्नुपर्छ नत्र समाज समाजजस्तो नभई अराजक र अनियन्त्रित मानिसहरुको दिशाहीन जमात हुन पुग्दछ । बाँदर लगाएतका अन्य प्राणी तथा आदिवासीहरुमा पनि नेतृत्वको स्वीकृति हुन्छ, जुन प्राकृतिक रुपमा नै स्वतः आवश्यक भएर आउँछ । राज्य पनि यही अवस्था र निरन्तरताको विकसित स्वरुप हो । यस खालको सोच पनि एक अर्थमा सही नै देखिन सक्छ । तर वर्तमान समय भनेको समानताको समय हो भन्ने विचार पनि उत्तिकै सशक्त र लोकप्रिय छ । यही मान्यतालाई सबैले स्वीकार गरिसकेको अवस्था छ । 

  • नेपालमा पनि वर्तमान समयमा पारिवारिक जीवनको फरक र खतरनाक प्रवृत्ति देखिन थालेको छ । एकले अर्कोको अस्तित्वको अस्वीकार गर्ने प्रवृत्ति झन् बढेर गएको छ । जेजस्ता कारणले भए पनि परिवारमा विखण्डन वा विवाद आउनु राम्रो होइन । पारिवारिक सहसम्बन्धलाई कायम राख्न हरेक समाजले आआफ्नो समाज र संस्कृतिअनुरुप भूमिका निर्वाह गरेको हुन्छ र गर्नुपर्दछ । वर्तमान समयमा भन्नुपर्दा नेपालको तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा सम्बन्ध विच्छेदको समस्या बढेर गएको पाइन्छ । यसलाई कतिपयले पहाडमा चेतनाको स्तर बढेको भनेर व्याख्या गरेको पनि पाइन्छ । तर कसैले यसलाई चेतनाको स्तरको मात्र नभई अराजकताको परिणति मानेको पनि पाइन्छ । खासमा पारिवारिक सन्दर्भमा तराईबाट पहाडले सिक्नुपर्ने अनुशासन, संस्कार र नैतिकताका कुराहरु हुन् भने पहाडबाट तराईले चेतना, समानता र सूचनाको शक्तिको बोध गर्नुपर्दछ । 

  • जब नैतिकता क्षीण बन्दै जान्छ तब आत्मसिर्जित कृत्रिम आवश्यकता र अधिकारहरुको जन्म हुँदै जान्छ । यो सतही रुपमा अधिकारजस्तो देखिए पनि वास्तवमा हानिकारक पक्ष हो । यो अर्थमा तराई पहाडभन्दा अगाडि छ तर नारीलाई हेर्ने दृष्टिकोण, नारीले आवाज उठाउने वातावरणको आधार र नारीले लिनुपर्ने शिक्षा तथा अधिकारको खोजीका सन्दर्भमा पहाड तराईभन्दा धेरै गुणा अघि छ । यसर्थ यी दुवैका राम्रा पक्षको सम्मिश्रण नेपाली सामाजिक एकता र व्यवस्थापनमा आवश्यक छ । 

  • पहाड होओस् कि तराई । जब मानिस हुर्कँदै जान्छ, उसले नयाँनयाँ साथीहरुसँग परिचय बढाउँदै जान्छ । उमेरसँगै विपरीत लिंगतर्फको आकर्षण पनि बढेर जान थाल्छ । यसरी झाँगिदै गएको आकर्षण भाव कतै प्रेममा पुगी विवाहपूर्व टुंगिन पुग्छ भने कतै विवाहसम्म पनि पुग्छ । दुवै पक्षको विवाह नभई त्यसै टाढा भएर पनि कतिको जीवन बित्दछ । साथीहरुसँग छुट्दा वयस्क अवस्थामा जति दिल दुख्न पुग्छ त्यति प्रौढावस्थामा नुदुख्न सक्छ । व्यक्तिको भावना र तात्कालिक अवस्थामा यस्ता संयोग र वियोगहरुले भूमिका निर्वाह गर्ने भए पनि उमेरको वृद्धि र घटनाहरुको बारम्बारताका कारण तुलनात्मक रुपमा यस्ता घटनाहरु केही न केही स्वाभाविक महसुस हुन्छ । यसरी जीवनका उतारचढावहरुमा समग्रमा नजिकिन उत्सुक हुने र नजिक भइरहँदा टाढिन उत्सुक हुने स्वभाव र प्रवृत्तिले स्थान पाइरहेको हुन्छ । यही कुरा आम नेपाली दाम्पत्य जीवनका सवालमा पनि लागु भएको पाइन्छ । 

  • तर मानवीय आम प्रवृत्ति र बढ्दो वर्तमान प्रतिस्प्रर्धाका कारण नेपाली समाज पनि पछिल्लो समयमा विखन्डन वा चिन्ताको बाटोतिर मोडिएको देखिन्छ । मानिसहरु परिवारका मूलभूत विषय वा महत्त्वपूर्ण पक्षहरुमा ध्यानै नदिई केवल पैसापैसा मात्र भनेर दौडिरहेको देखिन्छ । विश्वस्तरका विकसित मुलुकका नागरिकहरु पनि यही सोँचका कारण जीवन र कर्तव्य तथा गर्नुपर्ने सम्भाव्य मूल्यवान कार्यहरु गर्न सकिरहेका हुँदैनन् । कुनै उद्योगीले चलाएका कलपूर्जाजस्तै भएर जीवन काटेको थाहै नपाउने समस्या उनीहरुमा देखिन्छ । यस्ता विभिन्न सतही प्रभावहरु, विज्ञापनको असर, देखासिकी, अस्वस्थ प्रतिस्प्रधाजस्ता कुराहरुले जीवनका सुखहरु लुटिरहेको हुन्छ । 

  • नेपालीहरु वर्तमानमा चरम प्रतिस्प्रधाको शिकार भएको देखिन्छ । परस्परमा असहिष्णु भवनाको विकास पनि भएको देखिन्छ । जबसम्म यस्ता नराम्रा कुराहरु हाम्रा मनमा रहन्छन् तबसम्म न त सुख मिल्न पुग्छ न त बैवाहिक जीवन कायम रहन पुग्छ । यस खालका भावनाहरु मनबाट हट्ने वातावरण मिल्न कठिन भएकाले सफल भएरै पनि पूर्णतः विवादरहित वैवाहिक जीवनको अपेक्षा गर्नु त्रुटिपूर्ण हुन जाने हुन्छ । त्यसैले घरपरिवारमा आउने सानातिना विवादहरुलाई बढावा नदिई स्वाभाविक रुपमा लिने बानीको विकास गर्नुपर्छ । तर हिंसा र अत्याचारको सन्दर्भमा भने कुनै सर्तमा पनि सम्झौता गर्नु त्रुटिपूर्ण हुन जान्छ । जे भए पनि हामी सबैले यो कुरा बुझ्नुपर्छ कि पूर्णतः विवादरहित वैवाहिक जीवन असम्भव हुन्छ ।
-डब्ल्यूडी

No comments:

Post a Comment