मानिस सफलताका लागि निकै दौडधूप गर्दछ, मरिमेट्छ । उसले जीवनको धेरै भाग सफलताको दौडमा खर्च गरेको हुन्छ । सफलता भनेको के हो ? भन्ने वास्तविकता नबुझेर सर्वसाधारणको हल्लाका आधारमा सतही सफलताको आधार तय गरेपछि उसमा यस खालका समस्याहरु आउँदछन् । अध्ययन भन्नाले पढ्नुमात्र होइन त्यसको बोधको गहिराइ पनि जोडिन्छ । शिक्षित भन्नाले स्कुले शिक्षा वा विश्वविद्यालयको शिक्षामात्र होइन, अनुशासन, नैतिकता र संस्कारको शिक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । मानिसले कुनै तहसम्मको अध्ययन गरेपछि वा कुनै जागिर खाएपछि उसको आनीबानीमा एकाएक परिवर्तन हुन पुग्दछ भने ऊ धेरै काँचो मानिस हो भन्ने प्रमाण उसकै व्यवहार हो । विदेश जाने सपना बोकेको मानिस पनि बिदेश जाने भिसा लागेपछि उसका आनीबानी र अहम्का मात्रामा परिवर्तन आउँदछन् । आफन्त र साथीभाइहरुलाई चिन्न कम गर्दछ । कतिपय कलाकार, पत्रकार, अधिकारकर्मी वा राजनीतिक व्यक्तित्वहरुमा पनि प्राप्ति र उचाइपछि धरातल बिर्सने बानी देखिन्छ । अरुको त कुरै हुँदैन, आफ्नै परिवारका सदस्यलाई नै उनीहरुले वेवास्ता गरिरहेका हुन्छन् । हेर्दा शिक्षित र सभ्य देखिने तर अन्तरतहमा स्कुलकै मुख नदेखेका पाका मानिसहरुका अगाडि बालक बन्नुपर्ने व्यवहार उनीहरुको हुन्छ । यस खालको मनोभावनाको एउटा प्रभाव उनीहरुको वैवाहिक जीवनमा पनि पर्न गएको हुन्छ ।
पहिले आफूलाई सामान्य नागरिक र परिवारको सामान्य सदस्य ठान्ने भावना यी विविध क्षेत्रमा लाग्दा क्षीण हुन हुन पुग्छन् । चेतनाका नाममा भएका कतिपय शिक्षाहरुको सतही अर्थको बोध हुँदा र तिनका भित्री र दीर्घकालीन अर्थको बोध नहुँदा यस खालका समस्याहरु झन् देखिने गर्दछन् । कतिपय व्यक्तिहरु परिवारकै सहयोगमा माथिल्लो पदमा पुग्दछन् । तर पछि आफू नै ठूलो र महान् सम्झेर नाताको सम्बन्ध र गहन मूल्यको बोध गर्न सक्दैनन् । उनीहरुले शक्ति, प्रचार र ऊर्जा हुँदासम्म यसो भ्रम हुने भन्ने कुरासम्म पनि उनीहरुलाई थाह हुँदैन । जतिसुकै ठूलो व्यक्ति भए पनि उसका बाबुआमाले बुझ्ने जीवनको बोध उसले गर्न सकेको हुँदैन तर उसमा त्यो कुराको ज्ञान वा बोध हुन निकै समय लाग्दछ । यसर्थ कुनै मानिस राष्ट्रपति भए पनि उसका साथी र सहयोगीहरुका अगाडि आफू को हो ? यो बुझ्न सक्नुपर्छ । उसका बाबुआमा, आफन्त, छरछिमेक, श्रमतीका अगाडि आफू को हूँ ? भन्ने कुराको राम्रो हेकाना राख्नुपर्छ । यसले नै नैतिक बल र दीर्घकालीन सफलताको मार्ग निर्धारण गर्दछ ।
सफलता र यसको उन्माद थाम्न नसक्नाका कारण अहम्मा वृद्धि भई सम्बन्धविच्छेद गरेका घटनाहरु यत्रतत्र पाइन्छन् । साथीहरुसँगको सम्बन्धमा पनि उसको राम्रो भइरहेको हुँदैन । आफन्त, नाता र छरछिमेकीहरुलाई पनि उसले अर्कै मानिसको व्यवहार गर्न पुग्दछ । त्यसैले पूर्णतः सफल हुनु भनेको लक्ष्य पूरा गर्नुमात्र होइन कर्तव्य पनि सँगै लैजान सक्नु हो । यसतर्फ सफल भएका व्यक्तित्वहरुले समयमै सोच्नुपर्ने हुन्छ । नत्र उनीहरु उदाहरणीय र अनुकरणीय व्यक्तित्व बन्न सक्दैनन् । सधैँ शक्तिका भरमा मात्र आफूलाई टिकाउन सकिँदैन । त्योभन्दा माथिल्लो इतिहास हुन्छ र झन् माथि नैतिक बल हुन्छ । अज्ञानता र जीवन बोधको कमी छ भने यसको असर अन्ततः जीवन र समग्र समाजमा पर्दछ ।
- डब्ल्युडी
No comments:
Post a Comment