(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Sunday, October 30, 2016

ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ?



१४ कार्तिक २०७३ बेलुकाको ६ बज्दै गरेको समय । भर्खर कम्प्युटर खोल्दै । जम्मा ४ मिनेट ४७ सेकेन्डको भिडियो । फेसबुक वाल हेर्दै । वालमा एउटा भिडियोको लिंक आयो । शीर्षक घटनाप्रधान थियो । क्लिक गरिहालियो । हेर्दा त एक भिडियो युट्युबमा अपलोड गरिएको रहेछ । उक्त भिडियो कतिसमयसम्म युट्युवमा रहन्छ भन्ने कुराको यकिन गर्न सकिँदैन । मैले पनि उक्त लिंक यहाँ दिने हिम्मत गरिनँ । उक्त भिडियो हेर्दा जोकसैको मनमा पनि विभिन्न कुराहरु खेल्न सक्छन् । हाम्रो समाजको समस्याको डरलाग्दो चलचित्र । नेपाली राजनीतिले निम्ताएको हाम्रा बालबालिका र हाम्रो राष्ट्रको अत्यन्तै चिन्ताजनक भविष्य ।



भिडियो । कतिबेला कुटाइपिटाइ छ । कतिबेला क्षमाजस्तो भाव पनि छ । भनिएका दोषीहरुले दोषी होइनौँ पनि भन्ने र वरपरकाले किन होइन भनी प्रश्न । पिटिनेहरु होइन भन्न नसकेको । यसपछि फेरि सुरु हुन्छ केटाको पिटाइ । पिटाइ केहीबेर रोकिन्छ । दोषी भनिएको केटाकी आमाजस्तै लाग्ने एक महिला केही भन्छिन् । दोष महिलाको पनि छ ऊ बोलिने मेरो छोरालाईमात्र पिटे । लौ मार्न थाले । यसपछि पिट्नेको मन बदलिन्छ ।


श्रीमतीलाई पनि सँगै राख्नुपर्छ नत्र त श्रीमतीलाई जोगाएर केटालाईमात्र पिटे भन्नेछन् भन्ने सोँच आएजस्तो लाग्ने दृश्य । भनिएका दुवै दोषीको हात जोडदै । दुवैलाई पिट्छ । हान्ने चीजचाहिँ बाहिरबाहिर दुखाउने खालको छनौट गरेको वा त्यस्तै छनौट गर्न लगाइएको हो कि भन्ने पनि देखिन्छ । मानौँ कोर्राजस्तै न । उसले हातले हान्दा पनि बढी नै चोट पुग्न सक्छ भनेर त्यो वस्तु प्रयोग गरेको हो कि भन्ने अनुमान लगाउने ठाउँहरु पनि छन् । यस्तैयस्तै जोश, होश र रिसको आरोहअवरोह छ उक्त भिडियोमा ।


झगडा वा पिटाइ वा सामाजिक कारवाहीको विषय यौन प्यासको रहेको छ । घटना हेर्दा उक्त केटासँग भागेर उसकी श्रीमती ९ दिनदेखि भागेकी र लोग्ने श्रीमतीको खोजीमा ९ दिनदेखि भोकै छ । उसले श्रीमती र उक्त केटालाई सोधिरहेको छ, तिमीहरुले नराम्रो काम गर्यौ कि गरेनौ ? हामीले नराम्रो काम गरेका छैनौँ, उनीहरुले भन्छन् । मतलब परस्परमा यौनसम्पर्क गरेका छैनौँ भनिरहेका थिए । यसरी सोध्दा ९ दिन हराए पनि त्यस्तो नगरेको भए स्वीकार गर्न हुन्थ्यो । लोग्ने केटाको मन भित्रभित्रै बोलेजस्तो प्रतीत पनि हुन्छ । यतिबेला लोग्ने पत्याएजस्तो गरेर र पिटाइ रोकेको जस्तो देखिन्छ । उसले श्रीमतीमा कति धेरै विश्वास गर्दो रहेछ । माया गर्दो रहेछ । देखिन्छ त्यस्तै ।


उसले अरुले नबोल्दासम्म उक्त केटाको मात्र दोष देखाउन खोजेको भान हुन्छ । तर वरपरका छिमेकीहरुले यत्रो ९ दिनसम्म भगाएर राखेर पनि केही गरिनँ भन्ने ? भनेपछि ऊ फेरि ए हो त भन्ने भावमा आई फेरि पिट्छ । यतिबेला भने सम्भवतः बाध्य भएर र लोकलाजका कारण होला उसको मुखबाट आउँछ, यस्ता श्रीमती नभए पनि केही छैन । उसले उनीहरुलाई पिट्दा र उनीहरु पिटाइदेखि तर्किएको देख्दा उसले भन्छ यत्रो ९ दिनसम्म मैले भोकभोकै बस्दा कस्तो भए होला, तिमीहरुलाई भने यति हान्दा पनि दुख्ने ? उसको रिसभित्र क्रन्दन छ, बोल्दा बोली रोकिएजस्तो वा रोएजस्तो पनि आउँछ । ऊ पीडित पनि हो, कथाले त्यसै बताउँछ । तर दृश्यले कानुनी दायरामा जानुपर्नेमा सीमाभन्दा बाहिर गएको देखाउँछ । देखिन्छ यो पनि, पिटिनेहरु पीडित छन् ।


यसपछि भने उसले सम्भवतः केटालाईमात्र दोष दिएर र पिटेर समाजका अघि अब मेरी श्रीमती चोखी हुँदिने भन्ने भावनाले काम गर्छ । उसले पिट्दै भन्छ, तँजस्ता दुलही फेरि आज पनि भाग् । यतिबेलाको चोट भने होश गुमेको भावको छ । अलिक हेर्न नसकिने खालको । समाजद्वारा भनिएका दोषीहरुका तर्फबाट श्रीमतीको चिच्चाहट निकै डरलाग्दो र कलालीलाग्दो सुनिन्छ । यतिबेलाको चिच्चाहट सुनेपछि दर्शकमध्येका कुनै महिलाले रोक्न खोज्छिन्, चौकीमा लैजाने भन्ने कुरा आउँछ । फेरि कसैले यो माया गर्ने खन्ड वा काम होइन, तपाईँलाई पनि पर्ला है भन्छन् । ऊ पनि पछि हट्छे ।


यहाँ तपाईँलाई पनि पर्ला भनेको के हो ? यस्तै परिस्थिति ? खैर, बुझ्न सकिने भाषा थिएन यो । भिडियोको दृश्यलाई हेर्ने हो भने चोट त होइन होला ती महिलालाई पर्ला भनेको, किनकि उसले पिटिरहेका बेला अन्य मानिस तथा बुढाबुढीलाई आदर गर्न छोडेको छैन । यसपछि एकछिन पिटाइ रोकिन्छ । पिटिने केटा उठेका बेला सबैले बस्न भनेपछि फेरि ऊ बस्छ । समाजले जेजे भन्छ त्यही मान्दै झपड खाएको स्थिति उनीहरुको छ ।


त्यतिबेला श्रीमती भनिएकी युवतीबाट एक जना दिदिले ढोका लगाइदिएको भन्ने कुरा आउँछ । फेरि कुनै सोझी महिलाजस्तै लाग्ने आवाजले भन्छ, तिमीहरुले गलत काम गरेका हौ । उनीहरुले यो मान्दैनन् । यतिबेला पिट्नेले भन्छ, मेडिकल गरम् ? उनीहरु चुप बस्छन् । यसपछि फेरि केही चोटहरु थप्छ उसले । सारै दुखेपछि बरु मर्छु मार, पिटिने महिला वा उसकी श्रीमतीले भन्छे ।


दृश्यले मोड बदल्छ । १ लाख २० हजार रुपैयाँ माग्दछ श्रीमान्ले । श्रीमतीले भन्छे, मैले खाएँ छोराछोरीलाई खुवाएँ । यी छोराछोरी तपार्इँका नै हुन् । मैले एक रुपैयाँ पनि ल्याएकी छैनँ, उसको दाबी छ । यही बीचमा पिटिने जोडीले घरमा चावी लगाएर हिँडेको कुरा पनि समाजकी एक महिलाबाट खुल्छ । अन्त्यमा जे भए पनि हिसाब त चाहिन्छ भन्दै ती श्रीमानश्रीमतीको तत्कालका लागि विछोडको यकिन हुन्छ । यसरी नेपाली समाजको एउटा विकराल पाटो बोकेको उक्त ४ मिनट ४७ सेकेन्डको भिडियोमा भएजतिको नाटकीय दृश्य समाप्त हुन्छ ।


उक्त भिडियोमा शायद विदेश बसेको एक पुरुषले डोरी वा पेटीजस्तो देखिने वस्तुले कोर्रा लगाएझैँ दुई जनालाई पालैपालो प्रहार गरेको देखिन्छ । उक्त युवा कतिबेला सोझो प्रतीत हुन्छ र कतिबेला रिसाहा जस्तै । उसले प्रहार गरेका चोट खाने पात्रहरु पनि भाग्ने दौडिने गरेका छैनन् र समाजका सामु आफ्नो गल्ती स्वीकार गरेको जस्तो भान हुन्छ । यस खालको दृश्य रहेको भिडियो कसले खिच्यो र युट्युबमा आइपुग्यो भन्ने कुरा पनि रहस्यमय हुन सक्छ । पिट्ने वा पिटिने एक पक्षले खिच्यो वा कोही बाहिरको व्यक्तिले यसो गर्न लगाएर भिडियो बनायो र कसैलाई दियो ? यो अनुसन्धानको विषय हुन सक्छ ।


यो कथात्मक यथार्थपछि रह्यो, हाम्रो चासोको विषय । हाम्रो चासोको विषय यो होइन, तर यस्ता घटनाहरु नेपाली समाजमा बढिरहेका छन् भन्ने कुरा हामीजस्ता आम सर्वसाधारणका लागि महत्त्वपूर्ण हो । यो एक प्रतिनिधि कथा वा घटनामात्र हो । यस्ता दृश्यहरु गाउँघरमा भइरहन्छन् । एकातिर चरित्रहीनताको पराकाष्ठा र अर्कातिर समाजले यौनजन्य गतिविधिलाई हेर्ने दृष्टिकोणको पराकाष्ठाका । कारण यस्ता घटनाहरु दोहोरिन्छन् ।


अब सोचौँ, ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ? बाबुले रिसाउँदै र उसको साख मार्न भन्दै अर्की विवाह गर्ला । ऊ पनि महिला हो । उसले पनि त्यही युवकसँग बिहे गर्नुपर्ने होला । ऊ पनि पुरुष हो । ती बालबालिकाहरुले अब कस्तो परिवारको स्तर, शिक्षाको वातावरण र भविष्य पाउलान् ? नेपाली केही गैर जिम्मेवार प्रवृत्तिका नेताहरुले गरेको राजनीतिले अझसम्म ग्रामीण र निम्नवर्गीय जीवन गुजाराका लागि विदेशिनुपर्ने नतिजा दिएको त छ नै । यस्ता थुप्रै नेपाली बालबालिकाको भविष्यमाथि बेवास्ता र खेलवाड गर्ने कार्य पनि भइरहेको छ । (ed.)


स्रोत: with the help of a video on kbronline20.blogspot.com.गणेश, नेसपृ., २०७३ कार्तिक १४ गते ।


No comments:

Post a Comment